काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको जनाएका छन् ।
काठमाडौंमा सोमबार आयोजित दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षणमा उनले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने जनाए । उनले मार्चको तेस्रो साता सुरु गर्ने गरी परिषद्ले एसियन गेम्समा सहभागी हुने २३ खेलको तालिमको तयारी थालेको जानकारी पनि दिए । ‘एसियन गेम्समा रहेका २३ वटा खेलको ट्रेनिङ मार्चको तेस्रो साता सुरु गर्नेगरी हामीले बैठकमा निर्णय गरेका थियौँ । साथै अरु चारवटा खेलका लागि पनि केही निर्णय गरेका थियौँ । एउटा रणनीतिक सहभागिता आमसहभागिताका हिसाबले सोचेका छौं,’ उनले भने ।

राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम-सहभागिताका रुपमा आफ्ना काम अघि बढाइरहेको उनले जनाए । राज्यले मिहिनेती एक खेलाडीबराबर एक करोड रुपैयाँसम्म लगानी गर्ने गरी राखेप अघि बढिरहेको सदस्य-सचिव घिसिङले जानकारी दिए । उनले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडीबराबर एक करोड रुपैयाँ आवश्यकता परे पनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको जनाए । खेलाडीको मिहिनेत, लगावका आधारमा एक करोड रुपैयाँसम्मको लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको उनको भनाइ छ ।
‘एउटा खेलाडीबराबर मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडीबराबर एक करोड रुपैयाँ आवश्यकता परे पनि राज्यले लगानी गर्नेछ,’ उनले भने, ‘तर खेल र खेलाडीको मिहिनेत त्यसमा लगाव हुनुपर्छ । त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ । हामी खेल क्षेत्रको विकास किन भएन भन्दै गर्दा व्यवस्थित योजना बनाएर र लगानी गर्न कन्जुस्याइँ गरेर पनि हो । त्यो खेलाडीले देशलाई मेडल दिलाउँछ । खेलमा न राजनीति हुन्छ न अरु केही ।’
सदस्यसचिव घिसिङले खेलाडी छनोट भनसुनका आधारमा गर्न थाले राष्ट्रले सर्मनाक हार व्यहोर्ने बताए । अझै पनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको उनको दाबी छ ।
