एजेन्सी – कोरोना भाइरसको संक्रमण बढेसँगै जूम भिडियो कन्फ्रेसिङ्ग एप डाउनलोडिङ अत्यधिक भएको छ । यसको प्रयोग बढेलगत्तै यसको गोपनियतालाई लिएर प्रश्नहरु खडा भएका छन् । गुगल र टेस्ला जस्ता ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई यसको प्रयोग नगर्न भनीसकेका छन् । यसै बहसका बीच जूम एपका पाँच लाख एकाण्ट ह्याक भएको र त्यसमा रहेका युजरका डाटा डार्क वेभमा बिक्री भइरहेको जनाइएको छ ।
ब्लिपिङ्ग कम्प्युटरले आफ्नो रिपोर्टमा जूमका पाँच लाख एकाउण्ट ह्याक भएको र सामान्य दाममा ती निजी डाटाहरु बिक्री भइरहेको दाबी गरेको छ । जूम एपका प्रयोगकर्ताका डाटा ह्याकर्स फोरममा बिक्री भइरहेको बारेमा सबैभन्दा पहिले १ अप्रिलमा साइबर सेक्युरिटी फर्म Cyble ले जनाकारी दिएको थियो ।
रिपोर्टमा डार्क वेभमा जूम एपका प्रयोगकर्ताका डाटा सस्तो दाम अर्थात् $0.0020 प्रति एकाउण्ट बिक्री भइरहेको बताइएको छ । ह्याकिङ पासवर्ड र आइडीमार्फत भइरहेको पनि रिपोर्टमा उल्लेख छ । यसबाट के प्रष्ट हुन्छ भने ह्याकरलाई यसबारे पहिलेदेखि नै जानकारी रहेको थियो ।
ह्याकर्ससम्म पुग्ने जूम एप प्रयोग गर्नेहरुका डाटामा उनीहरुका ई–मेल, पासवर्ड, मिटिङको यूआरएल र होष्ट जस्ता जानकारी रहेका छन् । यस मध्ये २ सय ९० एकाउण्ट कलेज र विश्वविद्यालयसँग सम्बन्धित पाइएको छ । रिपोर्टका अनुसार जुन युजरका डाटा लिक भएको छ, त्यसमा युनिभर्सिटी अफ वर्मोट, डार्क माउथ, लाफयेते, फ्लोरिडा विश्वविद्यालय, कोलोराडो विश्वविद्यालय र सिटीबैंक जस्ता संस्थाको नाम पाइएको छ ।
