शिशिर सिंखडा, चितवन – चितवनको कालिका नगरपालिकामा राहत वितरणमा अनियमितता भएको पाइएको छ । नगरपालिकाले निर्णय विपरित आफूखुसी राहत वितरण गरिएपछि अनियमितताको पुष्टि भएको हो ।
नगरपालिकाले सानो परिवारलाई १० केजी चामलसँगै नुन, दाल, तेल दिने र ठूलो परिवारकोलाई २० केजी चामल दिने निर्णय गरेको भएपनि त्यसो नगरी राहात बितरण गरिएको पाईएको छ ।
नगरपालिकाको वडा नम्बर ११ सिद्धिका अधिकांश चेपाङहरुले १० केजी मात्रै चामल पाएका छन् । ६ देखि १२ जनासम्मको ठूलो परिवार बसोबास रहेको चेपाङमा वडाले २० केजी पाउने भन्दै नामावली संकलन गरेको भएपनि आफुहरुले १० केजी मात्रै चामल पाएको स्थानीयको गुनासो छ ।
वडा नम्बर ११ मा सुरुमा २ सय २० जना राहात पाउन योग्य रहेको भएपनि हाल कतिलाई वितरण गरियो भन्ने कुनै विवरण छैन । यस बिषयमा उक्त वडाका वडाध्यक्ष दामाराम चेपाङले प्रोफाइलमा ३ सय २७ घरधुरी भएपनि यहाँ ४ सय २७ घरधुरी रहेका कारण मिलाएर बाँडेको बताए ।

सुरुमा आफ्नो नाम र नागरिकताको फोटोकपी लगेको भएपनि पछि छिमेकीले पाएको २० केजी चामल बाढेर खान परेको स्थानीय सानु माया चेपाङको गुनासो छ । यसरी नामावली संकलन गर्नु र पछि छिमेकीले पाएको राहत आधा आधा बाँढेर खानु परेको भन्दै स्थानीयले पटक पटक गुनासो गरेका थिए ।
