किरात राईहरूको मूल बसोबास रहेको सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा उधौली पर्व मनाइएको छ। जिमि (राई) उत्थान समाज सोलु स्थानीय समितिले विशेष कार्यक्रम आयोजना गरी भव्यताका साथ सो पर्व मनाएको हो।
किराँत समुदायका मानिसहरू साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गर्दै दोस्रो महत्त्वपूर्ण चाड उधौली हर्षोल्लासका साथ मनाएका छन् ।

पर्वमा विशेष गरी प्रकृतिलाई धन्यवाद स्वरूप यो पर्व मनाइने गरिन्छ । प्रकृतिले हामीलाई सबै कुरा दिनुभयो त्यसैको फलस्वरूप हामी यस धर्तीमा बाँचिराखेका छौं यसैको धन्यवाद स्वरूप हामी पनि प्रकृतिलाई पूजा गर्छौं भन्ने कुरा पनि यो पर्वमा समेटिन्छ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्छन्।

