आज १७ औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। मूल समारोह समितिको आयोजना भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।
समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरूको सहभागिता रहेको थियो। त्यस्तै, सांसदहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षा अंगका प्रमुखहरू सहभागी थिए।
गणतन्त्र दिवसका अवसरमा सैनिक कवाजका अतिरिक्त विभिन्न साँस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएको थियो।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको खुसियालीमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ।
तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय

