काठमाडौँ – अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँको हनुमान ढोकामा फोटो प्रदर्शनी गरेको छ ।
काठमाडौँ महानगरपालिका, नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त संयोजनमा मेड इन काठमाडौँ फेस्ट २०८२ को अवसरमा प्रदर्शनी सुरु भए पनि जेनजी आन्दोलनका कारण बीचमै स्थगित भएको थियो।
प्रदर्शनका कारण स्थगन गरिएको प्रदर्शनी पुन: बिहीबार हनुमान ढोकामा एक कार्यक्रमकाबीच पूर्वकुमारी मनिता शाक्य र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले संयुक्त रूपमा उद्घाटन गरे।
प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यहरूले खिचेका १०० वटा फोटोहरू रहेका छन् । प्रदर्शनीमा इन्द्रजात्रासँग सम्बन्धित विविध गतिविधिहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।
लाखे नाचको जोसदेखि साँघुरा गल्लीहरूमा गुन्जिने धुन हुँदै डबलीमा उमङ्गित भीडसम्मका इन्द्रजात्राका महत्त्वपूर्ण क्षणहरूलाई क्यामेरामा कैद गरिएका तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् ।
तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।