काठमाडौं – इन्टरनेसनल एसोसिएसन अफ रेडियो एण्ड टेलिभिजन (आइवर्ट) नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि इच्छा गुरुङ निर्वाचित हुनुभएको छ ।
आइवर्ट नेपालको शनिबार सम्पन्न साधारण सभाबाट अध्यक्षमा इच्छा गुरुङ, उपाध्यक्षमा सन्ध्या थापा, सचिवमा मनिता पोखरेल, कोषाध्यक्षमा शिलु अधिकारी तथा बोर्ड सदस्यमा संगिता श्रेष्ठ, निशा मानन्धर र संतोषी पौडेल निर्वाचित हुनुभएको हो ।
दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष इच्छा गुरुङले नेपाली सञ्चार जगतमा कार्यरत महिला पत्रकारहरूको सशक्तिकरण र थप ऊर्जा प्रदान गर्ने उद्देश्यसहित निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संसारभर छरिएर रहेका महिला सञ्चारकर्मीहरूलाई एकजुट गराउने उद्देश्यले सन् १९५७ मा आइवर्टको स्थापना गरिएको हो । हाल १२ वटा देशमा क्रियाशील च्याप्टरहरूमध्ये आइवर्ट नेपाल च्याप्टर सन् २००७ मा प्रख्यात सञ्चारकर्मी बन्दना राणाको पहलमा नेपालमा स्थापना भएको हो । हाल विश्वभर ५२ राष्ट्रमा आइवर्टका सदस्यहरू रहेका छन् ।
आइवर्टको स्थापनाको मुख्य उद्देश्य सञ्चारका विभिन्न माध्यमलाई पेशा बनाई आफ्नो जीवन र करियर अघि बढाइरहेका महिला सञ्चारकर्मीहरूलाई क्षमता अभिवृद्धि, हौसला तथा प्रोत्साहन प्रदान गर्नु हो । सञ्चार जगतमा कार्यरत महिलाहरूको न्यायोचित भूमिका सुनिश्चित गर्ने, कार्यक्षेत्रमा लैङ्गिक अन्तर घटाउने तथा मिडियामा उनीहरूको उपस्थितिलाई बलियो बनाउने लक्ष्यका साथ आइवर्टले विश्वव्यापी नेटवर्किङको माध्यमबाट सशक्त भूमिका निर्वाह गर्दै आइरहेको छ ।
