काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले पहिलो जित दर्ता गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हल मा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको हो।
नेपालले किर्गिस्तानलाई २५–१८, २५–२० र २५–१३ ले हराउँदै प्रतियोगितामा महत्वपूर्ण अंक जोड्यो। यसअघि शुक्रबार भएको उद्घाटन खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।
अब समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपालको सेमिफाइनल यात्राका लागि निर्णायक बन्नेछ।
शनिबार नै भएको अर्को खेलमा भारतले मालदिभ्सलाई २५–९, २५–१४ र २५–१७ को सोझो सेटमा हराउँदै लगातार दोस्रो जित निकालेको छ। यससँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना थप बलियो बनाएको छ।
त्यसैगरी, दिनको पहिलो खेलमा कजाकस्तानले श्रीलंकालाई २५–९, २५–१८ र २५–१५ ले पराजित गर्दै सहज जित दर्ता गरेको थियो।
प्रतियोगिताअन्तर्गत आइतबार तीन खेल हुने तालिका रहेको छ।

