काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला काठमाडौं र दिल्ली दुवैतिर सुनिएका ‘गड्याङगुडुङ’ का आवाज आफूलाई प्रिय नलागेको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले रवि लामिछानेको द हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखले नेपाल र भारतमा सकारात्मक तरंग सिर्जना गरेको र त्यसका धेरै विषयमा आफ्नो सहमति रहेको उल्लेख गरेका छन्।
उनले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी र सभ्यता–संस्कृतिका विषयमा चर्चा हुँदा दुवैतिर सकारात्मक प्रतिक्रिया आउने गरे पनि सम्बन्धको अर्को संवेदनशील पाटो भने सधैं विवाद र अविश्वासको केन्द्रमा रहने गरेको बताएका छन्।
भट्टराईका अनुसार नेपाल–भारत सम्बन्धको मूल गाँठो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको छ। भारतीय पक्षमा लामो समयदेखि रहेको ‘हिमालयन फ्रन्टियर’ सम्बन्धी सोच र नेपाली समाजमा रहेको ‘सिक्किमीकरण’ को त्रासले दुई देशबीचको सम्बन्धलाई जटिल बनाइरहेको उनको भनाइ छ।
उनले यही कारणले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको ‘सिसिफस’ कथाजस्तै एउटै चक्रमा अल्झिँदै आएको टिप्पणी गरेका छन्।
भट्टराईले आफू प्रधानमन्त्री रहेका बेला यही समस्या समाधान गर्ने उद्देश्यले नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठनको अवधारणा अघि सारेको स्मरण गर्दै उक्त समूहको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताएका छन्।
उनले रवि लामिछानेको वर्तमान दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको यो दुष्चक्र तोड्न योगदान पुर्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्। तर, हाल काठमाडौं र दिल्ली दुवैतिर सुनिएका ‘गड्याङगुडुङ’ का संकेत भने उत्साहजनक नरहेको उनको टिप्पणी छ।
