काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी भइरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पुन मन्त्री बन्न लागेको पुष्टि गरिन्। ‘उहाँ आज विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री बन्दै हुनुहुन्छ,’ दाहालले भनिन्।
सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए। चुनावअघि राजीनामा दिएर उनी म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।
यसैबीच, सम्पत्ति विवरणसम्बन्धी विवादपछि राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने तयारी भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। उनलाई अपराह्न ३ बजे शपथ गराउने तयारीसमेत भइरहेको जनाइएको छ।
