काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
भैँसेपाटीस्थित हस्पिटल परिसरमा सम्पन्न कार्यक्रममा नेपाल मेडिसिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित टोमर तथा ललितपुर चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष पुष्प रत्न शाक्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ललितपुर चेम्बर अफ कमर्सका कर्मचारी, सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित (पति/पत्नी, आमा–बुबा तथा २२ वर्षमुनिका दुई सन्तान) ले नेपाल मेडिसिटीबाट अस्पतालको इनपेसेन्ट र आउटपेसेन्ट सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज तथा आउटसोर्स गरिएका परीक्षणमा भने उक्त छुट लागू हुने छैन। साथै, बीमा कम्पनीमार्फत क्यासलेस सेवा लिइने अवस्थाहरूमा पनि यो छुट उपलब्ध नहुने उल्लेख गरिएको छ।
सम्झौतामा नेपाल मेडिसिटीले आफ्ना सम्बन्धित विभाग तथा कर्मचारीलाई उक्त सहुलियतबारे जानकारी गराउने तथा ललितपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्य र कर्मचारीलाई इमेल, समूह सन्देशलगायत आन्तरिक सञ्चार माध्यममार्फत जानकारी गराउने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार सेवा लिन चाहने कर्मचारी तथा सदस्यले फोटोसहितको परिचयपत्र वा इमेलमार्फत गरिएको आधिकारिक सिफारिसका आधारमा सहुलियत प्राप्त गर्न सक्नेछन्। साथै, स्वास्थ्य बीमा भएका सदस्य तथा कर्मचारीका लागि क्यासलेस अस्पताल सेवाको सम्भावना सम्बन्धित बीमा कम्पनीसँग समन्वय गरी उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ।
दुवै पक्षले सेवाग्राहीको व्यक्तिगत जानकारी गोप्य राख्ने, आवश्यक समन्वयका लागि सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्ने तथा सेवाको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्झौताको अवधि दुई वर्ष रहनेछ। दुवै पक्षको आपसी सहमतिमा यसलाई नवीकरण गर्न सकिने तथा कुनै पक्षले सम्झौता अन्त्य गर्न चाहेमा कम्तीमा १५ दिनअघि लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ। सम्झौतासम्बन्धी कुनै विवाद उत्पन्न भएमा पहिलो चरणमा आपसी वार्ताबाट समाधान गर्ने र समाधान हुन नसकेमा प्रचलित कानुनअनुसार मध्यस्थता (Arbitration) मार्फत टुंगो लगाइने उल्लेख गरिएको छ।
कार्यक्रममा नेपाल मेडिसिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अमित टोमर, सहायक उपाध्यक्ष (बिजनेस डेभलपमेन्ट, ब्रान्डिङ एण्ड मार्केटिङ) तेन्जिङ कुन्सेल बज्राचार्य तथा घरेलु व्यवसाय विभागका अधिकृत सञ्जय त्रिपाठीको उपस्थिति रहेको थियो।
त्यसैगरी ललितपुर चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष पुष्प रत्न शाक्य, कोषाध्यक्ष नरेन शाक्य, सदस्य अजय महर्जन, वीरेन्द्र शाक्य र ऋषिकेश तिमल्सिनाको सहभागिता रहेको थियो।
