हिजो देवताको उचाइमा पुर्याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले नेपाली राजनीतिक संस्कार, सामाजिक मनोविज्ञान र लोकतान्त्रिक चेतनामाथि गम्भीर प्रश्न खडा गरेको छ।
मनमोहन अधिकारी र भरतमोहन अधिकारी सामाजिक सुरक्षा भत्ता गाउँ–गाउँसम्म पुर्याउने कामका कारण सम्मानित भए। तर समयसँगै जनमत बदलियो र भरतमोहन अधिकारीले चुनावसमेत हार्नुपर्यो। गोकर्ण विष्ट ऊर्जामन्त्री हुँदा आशाको प्रतीक बने, तर पछि उनको राजनीतिक मूल्याङ्कन पनि फेरियो। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा प्रशंसित भए, प्रधानमन्त्री हुँदा आलोचनाको केन्द्र बने। जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा प्रशंसा पाए, अर्थमन्त्री हुँदा आलोचित भए। नारायणकाजी श्रेष्ठ चुनावमा पराजित भइरहे पनि गृहमन्त्रीका रूपमा प्रशंसा बटुले।
प्रचण्ड र केपी शर्मा ओलीको राजनीतिक यात्रामा पनि यस्तै उतारचढाव देखिन्छ। कुनै समय अत्यधिक प्रशंसा गरिएका उनीहरू कहिले तीव्र आलोचनाको केन्द्रमा पुगे, त कहिले फेरि समर्थकहरूको आशाको केन्द्र बने।
गिरिजाप्रसाद कोइराला कुनै समय सबैभन्दा बढी पुत्ला जलाइने नेतामध्ये एक थिए। समय बित्दै जाँदा उनकै राजनीतिक भूमिकाको पुनर्मूल्याङ्कन भयो र धेरैले उनलाई राजनेताका रूपमा हेर्न थाले। शेरबहादुर देउवाको हकमा पनि यस्तै विरोधाभास देखिन्छ—कहिले तत्काल राजीनामाको माग गरिन्छ, कहिले संकटको समयमा उनकै नेतृत्व आवश्यक ठानिन्छ।
आज रवि लामिछाने, हर्क साम्पाङ, ज्ञानेन्द्र शाहीलगायत नयाँ पुस्ताका नेताहरूप्रति ठूलो आशा देखिएको छ। यो स्वाभाविक पनि हो। तर लोकतन्त्रमा कुनै पनि व्यक्तिलाई समयभन्दा अघि देवत्वकरण गर्नु वा प्रमाणबिना राक्षसीकरण गर्नु दुवै स्वस्थ राजनीतिक संस्कार होइन।
समर्थन गुण र कामका आधारमा हुनुपर्छ। विरोध पनि कमजोरी, असफलता र तथ्यका आधारमा हुनुपर्छ। अन्धो समर्थन र अन्धो विरोध दुवैले लोकतन्त्रलाई कमजोर बनाउँछन्।
अझ चिन्ताजनक कुरा, सार्वजनिक पदमा पुगेको व्यक्तिमाथि प्रमाण र तथ्यभन्दा पहिले हल्ला, अनुमान र चरित्रहत्याको प्रक्रिया सुरु हुने प्रवृत्ति हो। कसैले गल्ती गरेको छ भने कानुनले प्रमाणका आधारमा कारबाही गर्नुपर्छ। तर प्रमाणबिनाको आरोपलाई सत्यजस्तो स्थापित गर्ने संस्कारले व्यक्तिको मात्र होइन, राज्यका संस्थाप्रतिको विश्वाससमेत कमजोर बनाउँछ। यसमा अब ब्रेक लाग्नैपर्छ।
यस सन्दर्भमा एउटा पुरानो कथा सम्झन सकिन्छ। एउटा राज्यमा राजा दिनहुँ मरिरहन्थे। राति निदाएपछि राजाको नाकबाट नाग निस्केर उनलाई डस्ने रहेछ। प्रजाले हरेक दिन नयाँ राजा खोज्थे। एक दिन एउटा युवालाई राजा बनाइयो। उसले कारण पत्ता लगायो, राति सतर्क भएर बस्यो र नाग निस्कँदा त्यसलाई मारिदियो। त्यसपछि राजा फेरिरहनु परेन, समस्या नै समाप्त भयो।
नेपालको राजनीति पनि आज यही मोडमा उभिएको छ—हामी बारम्बार राजा फेरिरहेका छौँ कि नाग खोजिरहेका छौँ?
पात्र फेरिँदैमा समस्या समाधान हुँदैन। जबसम्म समस्याको जरा यथावत् रहन्छ, परिणाम पनि उस्तै रहन्छ। त्यसैले अब बहसको केन्द्र व्यक्ति र सत्ता होइन, रोजगारी, उत्पादन, सुशासन र समृद्धि हुनुपर्छ।
गरिबी घटेपछि निराशा घट्छ। निराशा घटेपछि राज्य र लोकतन्त्रप्रतिको विश्वास बलियो हुन्छ। त्यसका लागि नेपालले आफ्ना सम्भावनालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छ।
नेपालमा पर्यटनलाई विश्वस्तरमा विस्तार गर्न सकिन्छ। जलस्रोतलाई बिजुली उत्पादनमा मात्र सीमित नराखी उद्योग, रोजगारी र निर्यातसँग जोड्न सकिन्छ। कृषिलाई प्रविधिमैत्री र बजारमुखी बनाउन सकिन्छ। वनजन्य उत्पादनलाई मूल्य अभिवृद्धि गरी आम्दानीको स्रोत बनाउन सकिन्छ। उच्च पहाडी क्षेत्रमा जडीबुटी तथा उच्च मूल्यका कृषि उत्पादनको व्यावसायिक विकास गर्न सकिन्छ। ध्यान, योग र स्वास्थ्य पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपाललाई स्थापित गर्न सकिन्छ।
सूचना प्रविधिको विस्तारसँगै नेपालको भूगोल र वातावरणलाई ध्यानमा राखेर ठूला डाटा सेन्टर तथा डिजिटल पूर्वाधार विकास गर्न सकिन्छ। औद्योगिक तथा औषधीय प्रयोजनका लागि गाँजा खेतीजस्ता विषयलाई पनि कानुनी, वैज्ञानिक र नियमनयुक्त ढाँचाभित्र राखेर गम्भीर अध्ययन र बहस गर्न आवश्यक छ।
हामीले इजरायल, दक्षिण कोरिया, ताइवान र जापानबाट पनि धेरै सिक्न सक्छौँ। यी देशहरू प्राकृतिक स्रोतका कारण मात्र समृद्ध भएका होइनन्; दूरदृष्टि, अनुशासन, उत्पादन, प्रविधि, शिक्षा र मानव पुँजीमा लगानी गरेर उनीहरूले विकासको बाटो बनाएका हुन्। नेपालले पनि आफ्नो भूगोल, संस्कृति र सम्भावनाअनुसार कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि तथा साना–मझौला उद्योगमा नयाँ युग सुरु गर्न सक्छ।
सबै राजनीतिक दलको साझा उद्देश्य एउटै हुनुपर्छ—युवालाई स्वदेशमै सम्मानजनक रोजगारी दिने, उत्पादन बढाउने र गरिबी घटाउने। यो काम भाषणले हुँदैन। न मन्त्रले, न धामीझाँक्रीले। यसको वास्तविक उपचार उत्पादन, शिक्षा, रोजगारी, सुशासन र इमानदार कार्यान्वयनमा छ।
नेपाल अब व्यक्तिपूजा र व्यक्ति–घृणाको चक्रबाट माथि उठ्नुपर्छ। नेता होइन, नीति बलियो बनाऔँ। अनुहार होइन, प्रणाली सुधारौँ। समर्थन गुणका आधारमा होस्, विरोध दोषका आधारमा। आरोप होइन, प्रमाण बोल्ने राजनीतिक संस्कृति निर्माण गरौँ।
हिजो राजनीतिक परिवर्तनको समयमा अब्राहम लिंकन, महात्मा गान्धी, नेल्सन मण्डेला, कार्ल मार्क्स, भ्लादिमिर लेनिन र माओत्सेतुङजस्ता व्यक्तित्वलाई आदर्शका रूपमा हेरियो। अब आर्थिक रूपान्तरणको समयमा देङ शियाओपिङ, ली क्वान यू, महाथिर मोहम्मद र पार्क चुङ–हीजस्ता विकासमुखी नेतृत्वका अनुभवबाट सिक्न सकिन्छ। उनीहरूको राजनीतिक प्रणाली वा सम्पूर्ण विचारधारा अनुकरण गर्ने होइन, विकास, उत्पादन, अनुशासन, संस्थागत क्षमता र दीर्घकालीन योजनाबाट सिक्ने हो।
अब नेपालको राजनीतिले व्यक्तिको लोकप्रियता होइन, परिणामको मापन गर्नुपर्छ। कसले कति रोजगारी सिर्जना गर्यो? कति उत्पादन बढायो? कति उद्योग स्थापना भए? कति युवालाई स्वदेशमै अवसर दिइयो? सुशासन कति सुधारियो? नागरिकको जीवन कति सहज भयो?
यी प्रश्न नै राजनीतिक सफलताको वास्तविक मापदण्ड बन्नुपर्छ।
नेपालले अब नेता फेरिरहने होइन, प्रणाली सुधार्ने बाटो रोज्नुपर्छ। व्यक्तिको देवत्वकरण वा राक्षसीकरण होइन, कामको मूल्याङ्कन गर्नुपर्छ। राजनीति सत्ता प्राप्तिको माध्यम मात्र नभई आर्थिक र सामाजिक रूपान्तरणको साधन बन्नुपर्छ।
अब नेपालले व्यक्तिको चर्चा होइन, परिणामको राजनीति गर्नुपर्छ। विकास, उत्पादन, सुशासन, रोजगारी र राष्ट्रिय समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्न सके मात्र राजनीतिक परिवर्तनले आर्थिक रूपान्तरणको वास्तविक आधार तयार गर्न सक्छ।
– श्रीराज पोखरेल
राष्ट्रप्रेमी नागरिक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर
