सल्यान – जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानले ‘क्लिक सल्यान’ नामक फोटो वाक अभियान सुरु गरेको छ। अभियानअन्तर्गत पहिलो कार्यक्रम कालिमाटी गाउँपालिका–३ जगेनामा रहेको धागे छरा झरनामा आयोजना गरिएको हो।
राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानका अध्यक्ष अमृत बाबु बुढाथोकीले जिल्लाका पर्यटकीय गन्तव्यलाई तस्वीरमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिए। उनका अनुसार ‘क्लिक सल्यान’लाई निरन्तर सञ्चालन गर्दै जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत फोटो वाक कार्यक्रम आयोजना गरिनेछ।

“तस्वीरले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले सल्यानका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई क्यामेरामार्फत संसारसामु चिनाउने उद्देश्यले यो अभियान सुरु गरेका हौं,” अध्यक्ष बुढाथोकीले भने।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष तथा राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानका सल्लाहकार डिल्लीराज रावतले अभियानको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए। उनले फोटो पत्रकारहरूले खिचेका तस्वीरले जिल्लाको पर्यटन सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे।
“‘क्लिक सल्यान’ अभियानलाई निरन्तर सञ्चालन गर्न सके सल्यानका पर्यटकीय गन्तव्यलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्नेछ,” रावतले भने।

फोटो वाक कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानका पदाधिकारी तथा सदस्यहरूसँगै जिल्लामा क्रियाशील अन्य सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो। सहभागीहरूले धागे छरा झरनाको प्राकृतिक सौन्दर्यलाई तस्वीरमा अभिलेखीकरण गर्दै पर्यटन प्रवर्द्धनका लागि विभिन्न सञ्चार माध्यम र डिजिटल प्लेटफर्ममार्फत प्रचार–प्रसार गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानले ‘क्लिक सल्यान’ अभियानलाई जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यमा विस्तार गर्दै सल्यानको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई व्यापक रूपमा प्रवर्द्धन गर्ने जनाएको छ।

