काठमाडौं – नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै रवीन्द्रले फाइनल यात्रा तय गरेका हुन्। उनी ‘रोड टु युएफसी’को फाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।
अब फाइनल जित्न सके रवीन्द्रले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (UFC) सँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।
‘बझाङ्गी बाघ’ उपनामले चिनिने रवीन्द्रले बान्टमवेट विधामा अहिलेसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित निकाल्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन्। उनको एकमात्र हार सन् २०२३ मा इस्माइल खानसँग भएको थियो।
त्यसयता रवीन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा आयोजित ‘म्याट्रिक्स फाइट नाइट–१७’ को बान्टमवेट उपाधि जितेपछि उनी थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि हात पारेका थिए। त्यससँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।
‘रोड टु युएफसी’ सिजन–५ को क्वाटरफाइनलमा पनि रवीन्द्रले प्रभावशाली जित निकालेका थिए। गत मे महिनामा मकाउमा भएको खेलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
क्वाटरफाइनलपछि सेमिफाइनलमा समेत जित निकाल्दै रवीन्द्रले नेपाली एमएमएमा नयाँ इतिहास बनाएका छन्। अब उनको लक्ष्य फाइनल जित्दै युएफसीमा प्रवेश गर्ने पहिलो नेपाली फाइटर बन्ने हुनेछ।
