टीकाप्रसाद भट्ट
२०४१ साल तिर हात्ती छाप चप्पल अहिलेको जस्तो पिलन्धरे थिएन । साँच्ची हात्ती जस्तै थियो । बलियो अनि बाक्लो । भर्खर निस्केको रङरङ्गका हात्ती छाप चप्पल पट्काउदै हिंडदाको बेग्लै मज्जा आउथ्यो । त्यो भन्दा पहिला पायल चप्पल खुब चलेको थियो । पायललाई हातिछापले ख्याप्पै निलेको बेला थियो त्यो ।
मैले पनि नयाँ हात्ती छाप लगाए । २०४१ मैं । पहेंलो खालको थियो त्यो चप्पल । स्कुल जाँदा पड्काएर जान्थे धेरैं त्यसरी नै हिँड्थे । २-३ दिन के चप्पल पड्काइएको थिए, मज्जाले लडियो । बाक्लो भएकाले चप्पल फर्कियो र लड्न पुगें ।
म त्यतिबेला ठुलीदिदी शारदाको सानीमदौंको घरमा बसेर पढ्थे । भिनाजु डिल्लीप्रसाद गणितको शिक्षक भएकाले गणित सिकाउनका लागि बा ले त्यहाँ राख्नुभएको थियो । एकदिन चेतप्रसाद भिनाजुसंगसगैं स्कुल जादै थिएँ । अरु साथी पनि थिए । चेतप्रसाद भिनाजु अगाडि हुनुहुन्थ्यो । अहिले देवकोटाचोक भएको ठाउँबाट जिल्ला प्रहरी रेडक्रस भएको ठाउँ हुदै हिउँदे बाटो थियो । बाटोमा ठाडो गल्लि र त्यसकै छेउमा बरदन्तिकोे रुख थियो । ( जुन रुख यसै बर्ष नबजागरण सहकारीको भवन निर्माणको सिलसिलामा नासियो) । गल्लिको दुवै तिर सानो डिल थियो । झट्ट हेर्दा खोल्सी जस्तो लाग्थ्यो त्यो गल्लि । पूर्वतर्फको डिलबाट के खोल्सीमा हात्तिछाप चप्पल टेकेको थिए, फरक्क फर्कियो । मैले देब्रे हातमा किताब च्याँपेको थिए । दाहिने हात खोल्सीको पल्लोपट्टीको भित्तामा बजारियो । बजारीएको हात सर्प जस्तो गुँडुल्को परेर माथि उठ्यो । बडा अचम्म । मैले त्यस्तो कहिल्यै देखेको थिईन । साथीहरुले उठाए । चेतप्रसाद भिनाजु फर्कनु भयो र मलाई सम्हाल्नु भयो । ‘लु केटाले हात खुस्काएछ ’ उहाँले भन्नुभएको याद छ । चौपट्ट दुख्यो । रोएँ बेपत्ता । भिनाजु र साथीहरुले हात समाउदै , मलाई स्कुल लैजानुभयो ।
त्यस बेलाको स्कुल ! । के साधन श्रोत थियो र ! टिन्चर र ब्यान्डेज चाँहि कताबाट रहेछ । घाँटीमा हात झुड्याउने गरी डोरी भिराईयो । बा लाई खवर भएछ । त्यसबेला हिँडाएरै कसैलाई खवर पठाइएको होला । अहिलेको जस्तो सम्पर्क हुनेकुरा भएन । भिनाजु आएर हेर्दा मलाई गालि गर्नुहोला जस्तो सातो गएको थियो । तर उहाँले कराउनु भएन । आँखा फुकालेर हेर्नुभयो र शान्त हुनुभयो । डिल्लीसर ( भिनाजु ) ले ठुला आँखाले हेरे पुग्थ्यो त्यो बेला । गालि गर्नु र कुट्दा त सातै जान्थ्यो धेरैको । स्कुल सुरु भयो । म अफिस कोठामा रुदै बसेको थिए । स्वर्गीय हरि शंकर घिमिरे विरामीको उपचारका लागि सहयोगी हुनुहुदो रहेछ । उनलाई बोलाउने काम भयो । स्कुलडाँडाबाट कराएर बोलाइयो । उहाँ आउनुभयो । हेर्नु भयो । अरुले सोधपुछ गर्दा हात यता र उता लैजादा हुरुक्क हुन्थे । सामान्य भाँच्चिएको उहाँ आफै उपचार गर्ने गर्नुहुदो रहेछ । उहाँले मेरो हात झिरीप्प टुक्राटुक्रा भएकोले सक्दीन भन्नुभयो । नारीका हड्डी सवै बज्थे । बाहिरबाट छाम्दा घोँच्थे । धन्न छाला छेडेर बाहिर निस्केनछन ।
सानामा कागतिबोटे नबराज बढो चकचके थिए रे । उनले एउटै हात २- ३ पटक नै भाँचेको र उनैले बनाएको सुनियो । मलाई थाहा हुने कुरा भएन । अस्पताल त्यतिबेला टाढाको कुरा । जिल्ला सदरमुकाम रामेछापमा स्वास्थ्य चौकी थियो । त्यहाँ पनि भाँचिएको ठाउँमा प्लाष्टर गर्ने थिएन रे ! । बा आईपुग्नु भयो, कुदेर । जेठो छोरो । कति रहर हुदोँ हो । मैले हात भाँच्दा आत्तिनु स्वभाविकै हो । उहाँ खिन्न भएको देखें । आँखाको भाव मलिन थियो । धेरै पटक खुई खुई गर्नुभयो । धिक्कारोहोस ! भन्नुभयो र वस्नुभयो । शिक्षक र हरि शंकर घिमिरे विच कुराकानीमा सुनारपानीका एक जना कार्की बडो जान्ने छन् भन्ने कुरा सुनियो । काम्रो बाँधेरै उनले भाँचिएको हात खुट्टा ठिक पार्ने कुरा त्यहाँ भयो । मलाई त्यहि लान हरि शंकर घिमिरे सल्लाह दिनुभयो ।
डोको तयार भयो, मलाई बोक्न । डोकोको प्वालमा घोचाँ छिराएर वस्ने ठाउँ वनाइयो । बोक्ने मानिस वोलाइयो र दिउँसो २ बजे तिर सुनारपानि तिर हिडाइयो । झण्डै डेढ घण्टामा सुनारपानीको स्कुल छेउको पोखरी नजिकको एउटा घरमा लगेर डोको विसाइयो । सुनारपानीको भैरबी माविमा सानीमदौंबाट मेरो बुढामावलिका साईला बा हितप्रसा काफ्ले, सानीमदौंका श्याम सुवेदी, दामोदर सुवेदी र मच्छेडाँडीका पण्डित हरिहर प्रसाद सुवेदी पढाउनु हुँदो रहेछ । सवै त्यहि झुम्मिनु भयो । बा का सबै हितैषि र नाता भएकाले उहाँहरु सहयोग गरिरहनु भएको थियो ।
मेरो हात बनाउने भन्ने स्वर्गीय नेत्रवहादुर कार्की घर छाउदै रहेछन् । खरलाई मुग्राले हान्दै माथिबाटै भने – काम्रो बनाउनु , म यिनलाई खसी पार्छु । एकछिनमा उनी छानाबाट झरे । त्यतिबेला सम्म काम्रोका लागि बाँस काटिसकिएको थियो । उनले मेरो नारी समाते र तनक्क ताने । राम राम मरिहाले दुखेर । रोएँ । बेस्सरी । मलाई लडाइयो, गुन्द्रीमा । कसैले देब्रे हात समाते । कसैले टाउको थिचे अनि कसैले दुवै खुट्टा समातेर थिचें । कार्की बा म मरोस कि बाँचोस भन्ने चिन्ताले हैन, हात सोझ्याउनकै लागि तानिरहेका थिए । घरी तलबाट माथि ठेल्थे , घरी माथिबाट तल ।
केहि कपास र सुद्ध तोरीको तेल तयारी अवस्थामा थियो । उनले भाँचिएको ठाउंमा वरीपरी बाक्लो कपास राखें । मिलाएर बाँसको काम्रो बाँधे । अनि काम्रो भित्रको कपास चपक्क हुने गरी सुद्ध तोरीको तेल खन्याएर भनें अव १५ दिनमा हेर्छु, । तोरीको तेल विहान बेलुकै हाल्नु । उपचार सकियो । सुद्ध तोरीको तेल उनैको घरबाट किनेर मलाई डोकोमा बोकाएर साँझ झमक्क पर्दा दिदीको घरमा ल्याइयो । मलाई ति कार्की बा को हात बाट मर्नबाट जोगिएर आईपुगेको जस्तो भइरहेको थियो । धन्न मारेनन् ! ।
हात भाँचिएपछि दिनचर्या कठिन हुने भैहाल्यो । दाहिने हात भएकाले खाना खान, लेख्न, दिसा पिसाबका लागि गाह्रो भयो । दिसा गराएपछि कट्टुको ईजार बाँध्न भान्जाहरु बसन्त र रमेशले ठुलो गुन लगाए । केहि बर्ष पछि भान्जा बसन्तले पनि मेरै जस्तो गरी हात भाँचे । मैले उनको कट्टुको ईजार बाध्न सघाँए । कक्षा ७ को जिल्ला स्तरको परिक्षा आएकोले लेख्नु र पढ्नु छदैथियो । भिनाजुले देब्रे हातले लेख्न सिक् भन्नु भयो । अलि अलि लेख्थे । के सक्नु दाहिनेको जस्तो त !
१५ दिन पछि कार्की बा आईपुगे दिदीकै घरमा । तोरीको तेल हालेर मेरो हातमा कालै काई वसिसकेको थियो । उनले काम्रो खोलें । हात सिधा लाग्नु पर्ने । मेरो उधों तिर लच्चिएर लागेछ । हात नियालें र कार्की बा ले भनें – लु बिग्रिएछ, भएन यो त । फेरी भाँच्नु प¥यो । म छक्क परें । यत्रो पिडाँ भोगि सकें , फेरी भाँच्नु पर्छ भन्छन् । मैले नाई भने । उनी किन मान्थे । उनको घुँडामा राखेर मेरो हात भाँचे । दाउरा भाँचेको जस्तो । कस्तो अचम्म । कति निर्दयी ! मेरीहाँले फेरी एकपटक । काम्रो बाँधे र उनि गए । मेरो काम त्यहि दोहिरीयो । विहान बेलुका तेल हाल्ने बस्ने । शारदा दिदीले बडो हैरानी पाउनुभयो, मेरो स्याहारका लागि । भान्जाहरुले पनि ।
अर्को १५ दिन पछि कार्की बा आएर काम्रो खोलें । म भित्र भित्र कामीरहेको थिए । बरु बाङ्गै लागोस । तर अव तेश्रो पटक नभाँचिदिए हुन्थ्यो भन्ने लागेको थियो । हेरेर उनले भने – अव करिव करिव लाग्यो । तर अझै अलिकति चाँहि मिलेनछ । बा र भिनाजुले अब भैगो भन्नु भयो । उन्ले काम्रो निकालेर व्यान्डेज गरीदिए । तेल लगाइराख्नु भनें । मेरो हात गर्धनमा झुण््याउने गरी डोरी बनाइदिए र हिँडे । मलाई कार्की बा ले मेरो हात ठिक पारेकोमा धन्यबाद दिनु भन्दा पनि अब चाँहि बुढा नआईदिए हुन्थ्यो जस्तो लाग्यो । डरले ।
लामो अवधिसम्म शुद्द तोरीको तेल लगाईयो । हात ठिक भयो । नारीको एउटा नसा अलि ठाउँमा छैन । त्यसपछि कति कुस्ती , कति हुँतुतु खेलीयो । २।३ बर्ष हलो जोतियो । दिनभर हलो जोत्दा राति कट्कटि खान्थ्यो । पछि त्यस्तो कठिन काम पनि गर्नुपरेन । अहिले सम्म ठिकै छ ।
सोच्छु, अहिले त्यस्तो हात भाँचिएको भए, एम्बुलेन्स र काठमाण्डौंका सुविधा सम्पन्न अस्पतालको कुरा आउँछ । सक्नेले त राम्रै अस्पतालमा लैजान्छन् । गतिलो डाक्टरको नाम लिन्छन् । उ बेला मेरो लगायत धेरैका हात खुट्टा काम्रो बाँधेको भरमा ठिक भए । ठिक भएन भनेर दाउरा भाँचेझै घुँडामा राखेर हात भाँच्ने घर गाउँका नाम कहलिएका कार्की बा अहिलेको बि एण्ड बिका गतिला सर्जन भन्दा के कम ! सलाम उनलाई ।
