काठमाडौँ – नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित टेनिस कोर्टमा बल हस्तान्तरण गर्दै उद्घाटन गरे ।
टेनिस खेलको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७८ सालदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा यस वर्ष १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा विभिन्न १३ वटा क्लबका २१८ जना खेलाडीहरूको सहभागिता रहेको सेनाले जनाएको छ।
प्रतियोगिताअन्तर्गत खुल्लातर्फ पुरुष एकल तथा युगल, महिला एकल तथा युगल विधा समावेश गरिएको छ। त्यसैगरी भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथिका एकल तथा युगल विधा तथा ७० वर्षमाथिको एकल विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।
ज्येष्ठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल टेनिस सङ्घ, नेपाल ओलम्पिक कमिटी का पदाधिकारीहरू, विभिन्न टेनिस क्लबका प्रतिनिधिहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।

