काठमाडौँ- रौतहटबाट ८१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
बुधबार साँझ गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट ६५ तथा गौर नर्सिङ्ग इन्स्टिच्युटको आइसोलेसनबाट १६ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन्ट डा. कृष्ण साहले बुधबार ८१ जना संक्रमित निको भएर घर फर्किएको बताए । संक्रमण निको भएर घर फर्किनेहरु इशनाथ नगरपालिका, देवाही गोनाही, गौर, कटहरिया, राजदेवी नगरपालिका लगायतका रहेको उनले बताए । यसअघि पनि रौतहटबाट २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
