काठमाडौँ- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ। भने पहिरोले पुरिएर ६ वेपत्ता भएका छन्।
शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोले पुरेपछि ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको मृत्यु भएको हो।
यसैगरी थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जनालाई पहिरोले वेपत्ता पारेको छ। वेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन्।
उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए।
