काठमाडौं – देशभर आज देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म लगातार परेको भारी वर्षाले बाढी डुवान र पहिरोको जोखिम बढाइदिएको प्राधिकरणले जनाएको छ ।
पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्ने तथा ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई बिशेष सर्तक रहन भनिएको छ ।
तराइका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा रहेको भन्दै प्राधिकरणले सचेत रहन अनुरोध गरेको छ ।
