एकाबिहानै केदारमानको मोबाइलमा रिङ्गटोन बज्यो । “को हो यति बिहानै फोन गर्नेरु”, अल्छे तवरले आँखा तन्काउँदै उसले स्क्रिनमै नहेरी फोन उठायो ।
हेलो केदारमानजी, नमस्कार । म वीरध्वज ।
अहो, नमस्कार वीरध्वजजी । के छ तपाईँको खबर?, आवाज केहि कडा पार्दै उनी बोले ।
ठिक छ हजुर । आज तपाईँ र म चिया पिउँदै केहि गफ गरौँ कि भनेर यति बिहानै फोन गरेको ।
यो त धेरै राम्रो कुरा गर्नुभयो, कता भेटघाट गर्ने त ?, सहमति सहित केदारमान बोले ।
म त हजुरकै घरमा आउने विचारमा पो छु त । हजुर कतै निस्किनु हुन्छ कि हुन्न भनेरै फोन गरेको हँु ।
यो त झनै असल कुरा गर्नुभयो । हुन्छ आउनुस् न, म कतै निस्किने योजनामा छैन ।
केहि समय पश्चात वीरध्वज आइपुगे । बैठक कोठामा बसेर दुवै जना गफ गर्दैगर्दा केदारमानकी श्रीमति लिलावतीले चिया ल्याइन् । मुस्कानसँगै औपचारिक सन्चो बिसन्चोकोे संवाद साटेर लिलावती पनि त्यहिँ बसिन् । चियाको चुस्की लिदँै थोरै अकमक्किएझैँ वीरध्वजले केदारमानको अनुहारमा हेरे तर केहि बोलेनन् ।
केहि बेरको मौनतालाई चिरेर केदारमान बोले,
हुन त तपाईँ मेरोमा आउन र म त तपाईँकोमा जान केहि काम नै हुनुपर्छ भन्ने होइन, तर बिहानै फोन गरेर आउनुभएको छ, केहि सूर थियो कि वीरध्वजजी ?
एउटा सूर लिएरै आएको हुँ आउन त, तर कसरी भनूँ कसरी लागिरहेको छ, केहि साहस बटुलेर वीरध्वज बोले ।
तपाईँ हाम्रो बिचमा पनि अफ्ठेरो मान्नुपर्ने कुरा के नै छ र, खुलस्त भएर भन्नुस् न , लिलावती बोलिन् ।
हो नि वीरध्वजजी, केहि अफ्ठेरा नमानी भन्नुस् न, श्रीमतिको कुरामा सहमति जनाउँदै केदारमान बोले ।
थोरै विश्वस्त हुँदै फिस्स हाँसेर वीरध्वजले भने,
हुन त मोहि माग्न आउनेले ढुङग्रो लुकाएर चल्दैन भन्छन् । प्रष्टतः भन्नुपर्दा हजुरको छोरी सिम्रनसगँ मेरो साथीको छोराको बिबाहको कुरा चलाउन आएको हुँ ।
सिम्रन अत्यन्त असल शिलस्वभाव भएकी युवती हुन् । उनीसगँ मोहित हुने धेरै युवकहरु थिए , कतिले त आँट गरेर प्रेम प्रस्ताव पनि राखेका थिए । तर उनले आफ्नो लागि वर खोज्ने र रोज्ने अधिकार आफ्नो परिवारलाई मात्र दिएकी थिइन् । यहि कुरा प्रष्ट्याउँदै उनले सम्पूर्ण प्रस्तावहरुलाई अस्वीकार गरेकी थिइन् । कति युवकहरुले त आफ्ना अभिभावकहरुलाई समेत उनको घरमा पठाइसकेका थिए, तर कोहि पनि सफल हुन सकेका थिएनन् ।
केदारमानको घरमा उनको लागि धेरै प्रस्तावहरु आइरहने भएकाले वीरध्वजको कुराले उनलाई खासै आश्चर्यचकित बनाएन । तर आफ्नो नजिकको छिमेकी, त्यसमाथि पनि मिल्ने साथीले छोरीको लागि कुरा चलाएको हुँदा केदारमान केहि गहिरिन चाहँदै भने,
तपाईँले मनासिब कुरा लिएर आउनुभयो वीरध्वजजी । हुर्केबढेकी छोरीको लागि उपयुतm केटाको बारेमा तपाईँ हामीले नसोचे कसले सोच्छ र होइन ।
केहि सहजताको महसुस पश्चात वीरध्वजले हँसिलो मुहारमा भने,
त्यही भएर नै त मेरो राम्रो चिनजान भएका परिवारको कुरा लिएर म आफै आएको हुँ नि । सिम्रन तपाईँको मात्र छोरी कहाँ हो र, मेरो पनि त हो नि ।
घरपविार, केटाकेटि सबैको कुरा मिल्यो भने नहुने के नै छ र । आखिर छोरी हो, एक न एक दिन त कसै न कसैसगँ हात थमाइदिनै पर्छ । अनि केटा के गर्ने हुन् ? परिवार कति जना छन् नि ?
उत्सुक्तासाथ केदारमानले सोधे ।
परिवार जम्मा तीन जनाको हो, आमा बुबा र छोरा । हामीसगँ व्यवहार मिल्ने खालका छन् । वास्तवमा केटाको बुबा दिवाकर मेरो कलेज पढ्दाको मिल्ने साथी हो । ऊ हाम्रो ब्याचको गोल्ड मेडलिष्ट थियो । राम्रा र अब्बल मान्छेको जता पनि मान्यता हुने रहेछ । ऊ छात्रवृत्ति पाएर अमेरिका पढ्न गएको थियो, उता पनि राम्रो गरेछ र त्यहिको विश्वविद्यालयमा अध्यापन गराउँछ । ऊ सगँैको साथी म, मेरो यस्तो ताल छ, ऊ भने ग्रीनकार्ड होल्डर अमेरिकी प्रोफेसर ।
आफ्नो कुरामा आफै फिस्स हाँसे वीरध्वज ।
ल तपाइको पनि राम्रो छ नि यहाँ । सबैकुरा सन्तुष्टि न हो । फेरी सधैँ आफूभन्दा अगाडिकालाई मात्र हेरेर कहाँ हुन्छ र, आफूभन्दा पछाडिकालाई पनि त हेर्नुपर्छ नि ।
मुस्कुराउँदै लिलावतीले भनिन् ।
हुन चाहिँ हो, भाउजुले खाटि कुरा गर्नुभयो । वीरध्वजले सहमति जनाए ।
केटापट्टिको अमेरिका बस्ने र उतैको ग्रीनकार्ड भएको कुराले केदारमान दम्पत्तिको चाख अझ बढेको थियो ।
काठमाडौँको अनियन्त्रित फोहोरमैला र जताततैको अस्तव्यस्तता देखेर दिकक भएका ति दम्पतिलाई कुनै पि.आर वा ग्रीनकार्ड होल्डर केटासगँ छोरीको विवाह गरिदिने ठूलो रहर थियो ।
तपाईँले राम्रो कुरा ल्याउनु भयो वीरध्वजजी, तर हाम्रो मात्र कुरा भएर हुँदैन । अहिलेको जमानामा केटाकेटि पनि राजिखुशी हुनुप¥यो । हामी कुरा अगाडी बढाऔँ । मिल्यो भने तपाईँले हेरेको कुटुम्ब हामी कसरी नाइ भन्न सक्छौँ र!
केदारमानले गुलियो वचन दिए ।
मैले पनि राम्रो परिवार र असल केटाको कुरो, सकेसम्म आफ्नै नजिकका सँग सम्बन्ध गासिदिन पाए हुन्थ्यो भनेरै सिम्रनसगँ कुरा चलाएको हुँ । अहिले उनीहरु प्नि बिदामा नेपालमै आएका छन् । छिटै भेटेर कुराको टुङ्गो लगाउँदा कसो होला ?
वीरध्वजले जिज्ञासा राखे ।
केदारमान र लिलावतीले सहमति जनाए ।
तालु खुइलिएको, आफ्नो उमेरभन्दा अलिक बढि नै उमेरको जस्तो केटा देखेर सिम्रनले खुसुक्क आमालाई सोधिन् ,
केटो त निकै पाको जस्तो देखिन्छ नि आमा, उमेर धेरै नै भइसकेको हो कि क्या हो ?
आमाले सम्झाउँदै भनिन्
केटाको उमेर अलिक बढि त हुन परिहाल्छ नि । बढी दिमाग चलाउने अनि भाग्यमानि केटाको तालु छिटै खुइलिन्छ । फेरि केटि मान्छेले एउटा सन्तान जन्माएपछि जस्तै भए पनि बुढि देखिहाल्छन् नि । त्यसैले हेर् छोरी, तँ भाग्यमानी रहिछस् । अमेरिकामा स्थाइ बसोबास भएको केटा पाउनु चानचुने कुरा होइन ।
आमाको यस्तो कुराको प्रतिवाद सिम्रनले गर्न सकिनन् । दुवैतर्फ कुरा मिल्यो, विवाह पक्का भयो ।
एन. आर. एन. परिवारसगँ सम्बन्ध गाँसिएकोमा केदारमान मक्ख थिए । लिलावती पनि छरछिमेकमा कहिलेकाहिँ कुरा चल्दा उता अमेरिकाबाट सिम्रनले यसो भनेकी उसो गरेकी भनेर कुरा गर्थिन् । अति नै सुन्दर अनि सुशील बुहारी पाएकोमा दिवाकरको परिवार पनि खुशी थियो । रोहनलाई पनि उसका साथीहरुले यति राम्री श्रीमति पायौ, भाग्यमानी रहेछौ भन्न भ्याएका थिए । उनीहरुबिच पनि राम्रो मेलमिलाप थियो । सामाजिक आर्थिक रुपमा सम्पन्न एवं शिक्षित परिवारमा सिम्रनका दिनहरु सुखपूर्वक अघि बढ्दै थिए ।
रोहन आफ्नी श्रीमतिलाई अत्यन्त माया गथ्र्यो । सिम्रन पनि आफ्नो पतिलाई अति नै माया र आदर गर्थिन् । उनीहरु दुवै आफ्नो वैवाहिक जीवनमा सम्पूर्ण रुपले खुशी र सुखी थिए । आफ्ना छोरा बुहारीको मिलन र खुशी देखेर दिवाकर दम्पति ज्यादै आनन्दित थिए ।
समय आफ्नै रफ्तारमा अघि बढ्दै थियो । तर आजभोलि सिम्रनले आफ्नो जीवनमा केहि कुरा कता कता के नमिलेको के नपुगेको जस्तो महसुश गर्दै थिइन् । घरपरिवारबाट पनि माया पाएकै थिइन् , श्रीमान पनि उनको खुशीको लागि हरदम तत्पर रहन्थे । माइतीमा पनि सबै राम्रो थियो । सबै कुरा भएर पनि उनी पूर्ण खुशी हुन सकेकी थिइनन् ।
मानिसलाई खुशी हुन हजारौँ कुरा चाहिन्छ तर दुःखी हुन एउटा सानो कुरा नै काफी हुन्छ । त्यस्तै सानो कुरामा म अल्झेकी हुँ कि भन्ने पनि उनले महसुश गरेकी थिइन् । उनी रोहनसँग रातभरी मायामा अङ्गालिएर बस्न कुराकानी गर्न चाहन्थिन्, कहिलेकाँहि साना केटाकेटि जस्तै जिस्किन, नाँच्न, गाउँन, रमाउन चाहन्थिन् । तर ऊ यि सब भन्दा धेरै फरक थियो । ओच्छ्यानमा पल्टने बित्तिकै ऊ निदाइहाल्थ्यो ।
एक रातको कुरा हो । सिम्रन अचानक मध्यरातमा ब्यूँझिइन् । सुकेको घाँटीलाई पानीले भिजाइन् । निदाइरहेको रोहनलाई नियालिन्, अझ गहिरिएर हेरिन् । मायाले बिस्तारै उसको अनुहार सुम्सुम्याइन् , अलिअलि कपाल भेटिने नरम टाउकोमा छामिन् । उनलाई कताकता काउकुति लागेझैँ अनुभव भयो, पतिप्रति छाल मायाको उर्लिएर आयो, मायाले अङ्ग अङ्ग काँपेर आयो । मुटुको धड्कन आफ्सेआफ तेज हँुदै थियो । अनायास निदाइरहेको रोहनको ओठमा उनले चुम्बन गरिदिइन् । सिम्रनको क्रियाकलापले रोहन झसङ्ग ब्यूँझियो । सिम्रन झन् खुशी भइन् , उलको अङ्ग अङ्ग झन हडबडाएझैँ कापेझै महसुश भइरहेको थियो, मुसुक्क हाँस्दै उसलाई अङ्गालिन् । उसको शरीरका प्रत्य्क भागमा माया पोखिएको छ जसलाई आफूले सङ्गालेर टिप्नुपर्छझैँ गरी जताततै सुम्सुम्याउन र चुम्न थालिन् ।
रोहनले अचम्म मानेझैँ सोध्यो
के भयो सिम्रन तिमीलाई ? म यति मज्जाले निदाइरहेको थिएँ, तिमीले ब्यूँझाइदियौ !
हजुरको माया लाग्यो, लाँडिदै उनले फेरि रोहनलाई च्याप्प पारिन् ।
हाम्रो माया त एक अर्कामा छँदै छ नि, तर माया लाग्यो भन्दैमा मस्त निदाइरहेको मान्छेलाई कँहा उठाइदिएको यार? तिमीलाई थाह नै छ नि मेरो निद्रा बिचमा टुट्यो भने म पुनः निदाउन सक्दिन, मलाई गाह्रो हुन्छ भन्ने कुरा । रोहनले बिरसिलो जवाफ दियो ।
“ओ सरी सरी” सिम्रनले रोहनको चारैतिर सिरक मिलाइदिइन् ।
उसले फोस्रो अनुहारमा एकपटक हाई काढ्यो र सिम्रनलाई अङ्गालोमा बेरेर फेरि निदायो । उनी पनि आफू भित्र भित्रै थोरै आत्मग्लानी र हिनताबोध दबाउँदै पतिको अङ्गालोमा निदाउने प्रयत्नमा लागिन् । उनी लामो समयसम्म निदाउन खोजिन् तर मनमा तरह तरहका कुरा खेलिरहे ।
बेलुका सधैँ ओच्छ्यानमा उनीहरु केहिबेर कुराकानी गर्थे, मायामा रमाउँथे । त्यसको केहि बेरमै रोहन निदाइहाल्थ्यो । सिम्रन भने अबेलासम्म निदाउदिनथिन् । निद्रा नलाग्दा उनी इन्टरनेट चलाउँथिन्, साथीहरुसँग च्याट गर्थिन् अनि निद्रा लागेपछि सुत्ने तरखर गर्दा प्राय रोहनले आधा निद्रा पु¥याइसकेको हुन्थ्यो ।
एक रात रोहन निदाइसकेको थियो । सिम्रन भने फेसबुकमै मस्त थिइन् । उनको स्कुलदेखिकी साथी शैजनसँग गफ हुँदै थियो ।
शैजन ः अनि भिनाजु के गर्दै हुनुहुन्छ नि?
सिम्रन ः उँहा त निदाइसक्नु भयो ।
शैजन ः यति छिटै? त्यँहा त भर्खर ९ बज्यो होइन र!
सिम्रन ः उम्म हो । तर उँहाको छिटो निदाउने बानी छ । दिनभरिको व्यस्तताले पनि होला चाँडै सुतिहाल्नुहुन्छ ।
शैजन ः अनि तँलाई चाहि निद्रा लागेको छैन?
सिम्रन ः अँह, म धेरैजसो अबेला नै सुत्छु । छिटै निद्रा नै लाग्दैन । अनि तेरो वहाँको खबर के छ नि?
शैजन ः एकदम ठिक छ यार । साह्रै माया अनि केयर गर्नुहुन्छ । हामी त लामो समयसम्म अङ्गालोमा गफ गरेर मात्र सँगै निदाउँछौ । एउटालाई निद्रा नलागे अर्को पनि सुत्दैनौँ । ( केहि इतरिदै उनले भनिन् ) जिन्दगी यस्तै रमाइलोमा बितिराछ ।
सिम्रन ः ए, ल रमाइलो रहेछ । भिनाजुलाई पनि सोधेको छु भन्दे है । बाई ।
शैजनसँगको कुराकानी पछि सिम्रनलाई सबै केटामान्छे उस्तै हुदैन रहेछन् भन्ने लाग्यो । शैजनको श्रीमानसँग आफ्नो श्रीमानलाई दाजिन् । उनले आजसम्म त्यतिको माया पाएकी थिइनन् । यस्तै अनेकौँ कुरा मनमा खेल्न थाल्यो । यस्तै कुरा एकपटक राशिले पनि सुनाएकी थिइन् । दुवैको कुरा सुनेर अचम्मित भएकी सिम्रनले आफ्नो श्रीमानमा भने यस्तो व्यवहार नपाएकोमा खिन्न महसुश गरिन् ।
सिम्रन रोहनसँग खुशी हुन, रमाउन अनेक क्रियाकलाप गर्थिन् , जिस्किने, बनावटी रिसाउने आदी आदी तर प्रत्येक सामान्य कुरालाई ऊ गम्भिरतापूर्वक लिन्थ्यो । यस्तै कारण उनीहरुको बिचमा एकको कुरा अर्कोले नबुझेको भन्दै सामान्य मनमुटावको स्थििति देखिन्थ्यो । यस्तै क्रममा उनीहरुको कुरा दिनप्रतिदिन नमिल थाले, रोजाइ, रुचि र चाहनाहरुमा भिन्नता देखिन थाल्यो । रोहन सिम्रनलाई केटाकेटि जस्तो व्यवहार गर्ने भन्दै असन्तुष्टि व्यक्त गथ्र्यो भने सिम्रन उसलाई चाहिनेभन्दा बढि सोच्नुपर्ने भनेर आलोचना गर्थिन् । उनीहरु बिचको भिन्नता र असन्तुष्टिको बारेमा घरमा भने अरु कसैलाई अत्तोपत्तो थिएन ।
त्यो रात सिम्रन उनको प्लस टू पढ्दाको साथी सागरको अङ्गालोमा अनयास लुटपुटिन पुगिन् । सिम्रनजस्ती नैतिकवान् र मर्यादाको ख्याल गर्ने नारी कसरी त्यो क्षण र अवस्थामा पुगिन् , थाह थिएन । तर उनी अजीव आनन्दको यात्रामा थिइन् , सायद त्यो यात्राको जस्तो सुखद अनुभूत यसअघि भएको थिएन । उनीहरु मायाको तलाउमा डुबुल्की मार्दै एकले अर्कालाई पूर्णरुपमा आफूमा समाहित गराउने तमतयार अवस्थाबाट धेरै टाढा थिएनन् । सिम्रनका हात स्वचालित यन्त्रझैँ चलिरहेको थियो । उनले सागरको टाउको आफूतिर तान्दै ओठमा चुम्बन गर्न थालिन् ।
ह्या… खाली रातिराति अनेक गरेर तिमीले मलाई राम्ररी निदाउन नदिने भयौ, साह्रै बोर गर्छौ यार भन्दै रोहन झर्किदा सिम्रन झसङ्ग ब्यूझिन् । उनको शरीर निःथ्रुक्कै पसिनाले भिजेको थियो ।
मलाई निदाएको समयमा कसैले छोयो भने साह्रै गाह्रो हुन्छ, ल म अर्को बेडमा सुत्छु भन्दै रोहन अर्को खाटमा गयो ।
जब सिम्रन खाटमा एक्लै भइन्, तब उनी झस्किइन्,
अहो कस्तो सपना, छ्या
आफ्नो श्रीमानसँग अँगालोमा बेरिएर सुतेकी श्रीमतिले अर्को परपुषसँग शारिरीक सम्बन्धको लागि तयार भएको सपना देख्नु कस्तो अचम्म! मेरो अवचेतन मष्तिस्कले कस्तो काम गरिरहेको छ?
यो सपना मेरो चाहना, रुचि र कल्पनाबाट आएको हो ? पक्कै होइन ।
मैले किन यस्तो सपना देखेँ ?
आखिर मैले देखेको सपनाको बारेमा रोहनलाई के पत्तो ?
तर मध्यरातमा आफ्नी यौवन र जवानीले उन्मक्त श्रीमतीले अङ्गालोमा कसेर चुम्बन गर्न खोज्दा पनि किन ऊ निद्राको मोह त्याग्न नसकि बेड परिवर्तन सुत्छ ?
सिम्रनमा अनेक अनेक सोचाइका ज्वारभाटाहरु छाल बनेर उर्लिरहेका थिए ।
यत्तिकैमा एउटा गम्भीर सोचाइ खडा भयो,
रोहन र म मा उमेरको अन्तर बढि नै छ कि क्या हो ? जसकारण उसको र मेरो शारिरीक मानसिक इच्छा र रुचि समान हुन सकिरहेका छैनन् , म पूर्ण रुपमा ज्यादै सन्तुष्ट हुन पाइरहेकि छैन !
के मैले यहि अमेरिकाको बसाइ र ग्रीनकार्डसँगै एउटी नारीले अनुभूत गर्ने चरम सुखको आनन्दलाई साट्नुपर्ने हो त ?
यहि विशाल प्रश्नसँगै उनी पुनः निदाउने अभ्यासमा लागिन् ।
एकदिन रोहनसँग उनले सोधिन् ,
खासमा तपाईँको उमेर चाँहि कति भयो ?
फिस्स हाँस्दै उसले उत्तर दियो,
डकुमेन्टमा हेर न !
डकुमेन्टमा लेखिएको उमेर ठीक वा सत्य हुदैन भन्ने उनी राम्ररी बुझ्दथिइन् ।
रोहनको वास्तविक उमेर बुझ्न उत्सुक सिम्रनले एक दिन ससुरा दिवाकरसँग समेत हिम्मत गरेर सोधिन्,
बाबा, रोहनको जन्मकै आधारमा अहिले उसको उमेर कति हो ?
सिम्रनको यो प्रश्नले मनोविज्ञानका समेत ज्ञाता रहेका दिवाकरको मनमा चस्स चस्का पस्यो ।
सिम्रनले फेरि सोधिन् ,
बाबा रोहन र मेरो खास उमेरको अन्तर कति हो ?
दिवाकरले अनौठो गरी सिम्रनलाई नियालिरहे तर केहि जवाफ दिएनन् ।
नामः मनोज न्यौपाने
ठेगानाः मेलुङ्ग ६, दोलखा
सम्पर्कः ९८५११६२०९९
प्रकाशित कृतिः १.पागल आमा –लघुखण्डकाव्य
२. महान जीवनको यात्रा –कथासंग्रह
