काठमाडौं – तिव्र गति कम गर्न यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन प्रदान गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरका उक्त गन हस्तान्तरण गरेको हो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गनले सहयोग पुर्याउने बताए। तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाईरहेको सन्दर्भमा उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे।

यातायात व्यवस्था विभागका महानिर्देशक ई. हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागि परेको बताए। समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जिपिएस प्रणाली जडान, स्मार्ट लाईसेन्स वितरण लगायतका कार्य शुरु भएको उनको भनाइ छ।
