डम्बर निदाल
डडेल्धुरा – डोटीको शिखर नगरपालिका–१० गहनान स्थित सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको शव फेला परेको छ । सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवै जना स्वास्थ्यकर्मीको शव फेला परेका हो ।
बेपत्तामध्ये बझाङ खप्तडछान्ना गाउँपालिका वडा नं. ५स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंहको शव सोमबार शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा फेला परेको हो । उनको शव बेपत्ता भएको स्थानदेखी करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
जिल्ला प्रहरीको टोली र सशस्त्रको गोताखोरटिम तथा स्थानीय वासिन्दाको सहयोगमा शवको खोजिएको थियो ।
यसअघि आईतवार बेलुका डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको प्रहरीले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा कार्यरत चार जना शनिवार बिहानै शैलेश्वरी मन्दिर दर्शनका लागि गएका थिए । मन्दिर दर्शन गरी फर्किदा नुहाउने क्रममा उनीहरुमध्ये तीन जनालाई सेती नदीले बगाएको थियो । बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंह बेपत्ता भएका थिए ।
