काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा कम्तीमा २१ घर पहिरोले पुरिएको छ। पहिरोमा परी ३८ भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

प्रहरी आइपुग्न पनि तीन घन्टा लाग्न सक्ने स्थानीय कान्छा तामाङले बताए। १३ जना जतिको पहिरोबाट उद्धार गरिसकिएको उनले घटनास्थलबाट जानकारी गराए।

घाइतेलाई अस्पताल लैजान हेलिकप्टरको पर्खाइमा रहेको उनले बताए। ‘हेलिकप्टर आउँछ भनेको छ। तर आकाशमा बादल लागिरहेको छ,’ उनले भने।
घटनास्थलमा गाउँपालिका प्रमुख, उपप्रमुख आउँदै गरेको उनले बताए। वडा २ का अध्यक्ष प्रताप लामा उक्त क्षेत्रमा जाँदै गरेको जानकारी दिए।

‘२१/२२ घर पहिरोमा परेको जानकारी आएको छ। अहिले उद्धारका लागिसुरक्षाकर्मी र स्वास्थ्यकर्मी त्यसतर्फ लागिसक्नु भएको छ,’ जुगलगाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले भने, ‘माथिल्लो भेगमाभएकाले अवस्था के छ सबै जानकारी पाइसकेका छैनौं। त्यता जाँदैछौं।’

जनधनको क्षति धेरै हुने आँकलन भए पनि यकिन विवरण आउन सकेको छैन। अहिले सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन्।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार पहिरोमा परी ३८ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीका लागि सेनाको टोली पुगेको छ। पाँच जना घाइतेलाई जिल्ला सदरमुकाम चौतारा अस्पताल लगिएको छ।
सबै तस्विर सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाने

