डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाका युवाहरुले जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. १ मा रहेका चार जना अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् ।
शनिबार गन्यापधुरा गाउँपालिका वडा नं. १ सुन्नमा रहेका चार जना दलित बालबालिकाहरुलाई विद्यालय पोशाक लगायत अन्य सामग्री सहयोग गरेको अजयमेरुका युवा रतन ऐरले बताए ।
आमाले आत्म हत्या गरेको र बुवा जेल परेको र करिब ७० वर्षिय हजुरआमासंग रहेका १६ बर्षिय शान्ती कामी,१४ बर्षिय डम्बर कामी,११ बर्षिय गोविन्द कामी र ८ बर्षिय निर्मला कामीलाई अजयमेरुका युवाहरु भरत मल्ल, हरि भण्डारी, गोविन्द भट्ट, रतन ऐर र भुवन काजि भट्टले घरमै गई सहयोग गरेका हुन् ।
शनिबार गन्यापधुरा गाउपालिका वडा नं. १ का अध्यक्ष चेतराम भट्टको रोहबरमा अजयमेरुका युवाहरुले कापी कलम, जुत्ता चप्पल र विद्यालय जाने पोशाक वितरण गरेका छन् । आमाले आत्महत्या गरेको र बुवा जेलमा रहेकाले ती बालबालिकाको शिक्षा आर्जनमा समस्या नहोस् भनेर सहयोग गरेको रतन ऐरले बताए ।
