डम्बर निदाल
डडेल्धुरा – सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै नेपाल विद्यार्थी संघ डडेल्धुराले त्यसको विरोध जनाएको छ । मंगलवार जिल्ला सदरमुकाम बागबजारमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।
नेपाल बिद्यार्थी संघ डडेल्धुराले प्रायः दिनहु प्रदर्शन गर्दै आएको छ । सरकारका काम कारवाही विरुद्ध लकडाउनमा समेत सरकारको ध्यानाकर्षण गराउदै जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा नेविसंघले प्रदर्शन गर्दै आएको छ ।
सरकारले चालेका कमदले जनता मारमा परेको भन्दै विरोधमा नेविसंघले प्रदर्शन गरि रहेको छ । मंगलबार पनि नेबिसंघले पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर्नु पर्ने मुख्य माग राख्दै बागबजारको भिमदत्त चोकमा प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरि लकडाउनको मारमा परेका जनता लाई झनै सास्ति दिएको बिद्यार्थीको आरोप छ । कोरोना संक्रमणको भयाबह स्थितिमा सरकारले राहतका कार्यक्रम ल्याउनुको साटो दैनिक जिवनयापनमा झन कठिनाई पु¥याएको बिद्यार्थीहरुको भनाई छ ।
जनताको ढाड सेक्नु भन्दा पनि सहज रुपमा जिवनयापन गर्ने खालका निती योजना ल्याउनु पर्ने नेविसंघको माग छ । प्रदर्शनमा बिद्यार्थीहरुले विश्व विद्यालयमा अनियमित नियुक्ति रोक्नु पर्ने, कालोबजारी नियन्त्रण गर्नु पर्ने, वाढीपिडितको उचित व्यवस्थापन गर्नु पर्ने, लोकसेवा बाट कर्मचारी भर्ना गर्नु पर्ने, अमरगढी सरकारले र प्राविधिक प्रमुखले लिखित धारणा व्यक्त गर्नु पर्ने माग सहित संघले प्रदर्शन गरेको बिद्यार्थी नेता पवन ऐरले बताए ।

अमरगढी नगर पालिकाले आठ करोडको लगानीमा निर्माण गरेको नवनिर्मित भवनको बारेमा आधिकारिक धारणा सहित प्राविधिकले लिखित विज्ञप्ति प्रकाशित गर्नु पर्ने पनि बिद्यार्थीहरुको जोडदार माग रहेको नेता ऐरले बताए ।
