चम्पक किराँती कोइँच

अहिले सामाजिक सद्भभाव एवम् साम्प्रदायिक भड्काउ खाले शब्द सहित नेपालको झण्डा जलाएको म्युजिक भिडियोलाई लिएर सामाजिक संजाल तातेको छ। यस सन्दर्भमा जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी युवा संघले उक्त भिडियोप्रति आपत्ती जनाउँदै एक प्रेश विज्ञप्ति मार्फत नेपाल सरकार समक्ष कानुनी कार्बाहिको माग गरेको छ । राज्यसँग नागरिक जनताका फरक राजनीतिक सिद्धान्त, बिचार , मुद्दा तथा मागहरू र असहमति हुन्छन् । नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर फेर्ने लगायतका सन्दर्भमा विज्ञ, राजनीतिकर्मीहरु बिच बहस तथा छलफल नभएका होइनन् । झण्डा जलाउदा राष्ट्रघात देख्नेले झण्डा हल्लाउनेहरुले देशै बेचेर राष्ट्रघात गरेको नदेख्ने ? भनेर आक्रोश पोख्ने एकखाले जमात पनि देखिन्छ । यद्यपि आफ्नो अधिकार र अस्तित्व खोज्दै शासक वर्गको भण्डाफोर गर्ने सवालमा कुनै सिङ्गो जाति समुदायप्रति अपमानजनक द्वैध, घृणा फैलाउनु , नेपालको झण्डा जलाउनु जस्ता कार्यहरू जो कोहिबाट हुनु समस्याको समाधान पक्कै होइन । यद्यपि यो घटना कस्ले ? किन र केका लागि घटाइएको हो ? भन्ने सन्दर्भमा  सम्बन्धित निकाय, राज्यसत्ता संचालकले पनि बिस्तृत खोज, अनुसन्धान, निस्पक्ष छानबिनका साथ वास्तविक कारण पत्ता लगाउन पर्ने देखिन्छ भने यो गम्भीर सोचनीय बहसको विषय बनेको छ।

करिब छ महिना पहिले वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यूले चारवटा हेलिकप्टर चार्टर्ड गरी करोडौं खर्चेर नेपालको नक्सा अंकित केक काटी आफ्नो जन्मोत्सव तेह्रथुमकाे आठराईगाउँमा मनाएको सन्दर्भमा संचार माध्यम लागायत सामाजिक संजालमा व्यापक आलोचना र चर्चा भएको थियो । उहाँकै पार्टी समर्थक तथा शुभचिन्तक र सच्चा नेता कार्यकर्ताले समेत आलोचना र बिरोध गर्न भ्याएका थिए भने विपक्ष दलका नेता कार्यकर्ताले झन नगर्ने कुरै भएन । यस सन्दर्भमा कतिपयले देशद्रोह राष्ट्रघातको मुद्दा लगाउनु पर्छ भन्ने आवाजहरु पनि नउठेका होइनन्  । अन्ततः यस सवालको साम्य हुन नपाउदै कोरोना भाइरस(कोभिड-१९) महामारीले बिरोधीहरुको ध्यान अनेन्त्र मोडिएको थियो । अहिले फेरि झण्डा काण्डले गर्दा यो प्रसङ्ग जोडिन पुगेको छ ।

देशको पदीय मर्यादा र राजनैतिक शक्तिको हिसाबले पात्रहरु फरक भएपनि नेपालको नक्सा अङ्कित केक काटेर खानु र झण्डा जलाइनु कानुनी नजरमा प्रवृत्ति एउटै हो भन्दै सचेत जनताहरुको ठम्याइ छ । हामी सम्पुर्ण सच्चा असली देशभक्त तथा राष्ट्रप्रेमी नागरिक भएको हैसियतले निस्पक्ष रुपमा गलतलाई गलत र सहिलाई सहि भन्न सक्नैपर्छ । यी खराब प्रवृत्तिका पात्रहरू जो कोहिलाई मुलुकी ऐन अपराध (संहिता) २०७४ को परिच्छेद ८ को दफा १५१ उपदफा (२) १ बमोजिम कानुनी कार्बाहि गर्लान् वा नगर्लान् । यद्यपि नेपालको नक्सालाई केक बनाएर काटी खाने र नेपालको झण्डा जलाउने यी दुवै कार्य जायज होइन ।

कोभिड-१९ महामारीले विश्व आक्रान्त भैरहेको छ । यो मानेमा नेपाल पनि अछुतो रहन सकेन । यद्यपि नेपालमा उक्त भाइरसको रोकथाम तथा नियन्त्रणको लागि करिब चार महिना नेपाली जनताले कष्टकर लकडाउन झेल्नु परेको थियो ।  नियन्त्रण केही हदसम्म भएपनि केही व्यक्तिमा संक्रमण देखिएको भाइरस अहिले अप्रत्याशित रुपमा ह्वात्तै बढ्न थालेको छ । लकडाउन केही जिल्ला भित्र खोकुलो भएतापनि लामो दुरीका सवारी साधन र अन्तर्राष्ट्रिय हवाई उडान अहिलेसम्म ठप्प छन् । रोगले भन्दा भोकले मर्ने स्थिति सृजना भएको छ । तर लकडाउनको अवधिभर सरकारको नेतृत्व गरेको सत्तासीन दल र अन्य दलहरूनै राजनीतिक खिच्चातानी, दल फुटाउने विधेयक ल्याउने , नेपालको नक्सा संशोधन सम्बन्धि विषयमा केन्द्रित भयो । लकडाउनकै समयमा सरकारले राजनीतिक दलसम्बन्धी विधेयक ल्याएपछि रातारात तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण गर्न भ्याए भने उक्त विधेयक पनि सरकारले फिर्ता लिन बाध्य भएको थियो।

तत्पश्चात भारतको संघीय रक्षामन्त्री राजनाथ सिंहले बैशाख २६, २०७७ (मे ८ , २०२०) गते नेपाली भूमी कालापानी, लिपुलेक हुँदै चीनको तिब्बत, मानसरोवर जोड्ने सडकमार्गको उद्घघाटन गरेको सन्दर्भलाई सर्वप्रथम जसपाका शिर्ष नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संघीय संसदमा जोड्दार उठान गरेका थिए भने नेपालका सच्चा देशभक्त तथा राष्ट्रप्रेमी सचेत जनताहरु भारतीय दादागिरी विरुद्ध आक्रोशित हुँदै सामाजिक संजाल र सडक तताउन थालेपछि नेपालको नक्सा संसोधन गर्न दलहरू केन्द्रित भयो । उक्त नक्सा तथा निशान छाप सम्बन्धि संसोधनको लागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकोले जनता समाजवादी पार्टी, नेपाल र नेपाली काङ्ग्रेस पार्टीको समर्थन जरुरी पर्थ्यो।

नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र भौगोलिक अखण्डताको सवालमा राष्ट्रिय राजनीति र संसदमा तेस्रो प्रमुख प्रतिपक्ष ठूलो दल जसपाको तर्फबाट उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धिसम्झौता गर्ने काङ्ग्रेस कम्युनिस्टले जनतासामु माफी माग्नुपर्ने तर्कसहित संघीय संसदमा दाम्दार राष्ट्रवादी भाषण गरेका थिए । जसपाकै अर्का नेता राजेन्द्र महतोले अरे देश कस्ले बेच्यो ? राष्ट्रघाती , देश बेचुवालाई खोजीखोजी टुंडिखेलमा झुन्ड्याउनु पर्छ भन्दै संघीय संसदमा गर्जदै नेपालको नक्सा तथा निशान छाप सम्बन्धि दोस्रो संविधान संसोधन विधेयक २०७७ लाई समर्थन गरेका थिए । उक्त विधेयक कम्युनिस्ट, काङ्ग्रेस, जसपा लगाएतका दलहरुको दुई तिहाई भन्दा बढी मतले पास गर्न सफल भए । तर जसपाको सांसद सरिता गिरीले पार्टीको निर्देशन र नीति, सिद्धान्त, अनुशासन र पद्धति विपरीत राष्ट्रहितको विपक्षमा उभिन पुगिन् ।

देश हित विपरीत अभिव्यक्ति दिएको भन्दै पार्टी भित्रकै सच्चा नेता कार्यकर्ताको भन्डाफोर र खबरदारीको परिणाम जसपाले सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद पदबाट निलम्बन गरी कार्बाही गरेको थियो । त्यो ऐतिहासिक निर्णय तथा कदमले जसपाको जनताप्रति लोकप्रियता, विस्वास र अपेक्षा बढ्ने देखिन्छ भने देशको सार्बभौमिकता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डता र राष्ट्रियताको सवालमा जनता समाजवादी पार्टी, नेपालले आफूलाई एक सच्चा देशभक्त तथा असली राष्ट्रवादीको रुपमा प्रमाणित गरेको छ। यस सन्दर्भमा काङ्ग्रेस, कम्युनिस्ट लगायत अन्य राजनैतिक दलले पनि आफ्ना पार्टीका देश हित विपरीत बिकासको नाममा अनेक राष्ट्रघाती सन्धिसम्झौता गर्ने, देश बेच्ने, भ्रष्टाचार गर्ने लगायत देश हित विपरीत गलत अभिव्यक्ति दिनेलाई यथासिघ्र कार्बाही गर्न सक्नुपर्छ। होइन भने मुख र बोलीमा मात्र राष्ट्रवाद तथा देशभक्त देखाउने तर व्यवहारमा देखिएन भने सचेत न्यायप्रेमी जनताले खोक्रो राष्ट्रवादी भन्ने छन् ।

अन्ततः नेपालको राष्ट्रिय झण्डा जलाउने, नक्सा अंकित केक काटेर खाने भन्दा महाराष्ट्रघाती नेपालको कोसी, गण्डक, महाकाली टनकपुर बेच्ने लगाएत बिकासको नाममा अनेक राष्ट्रघाती सन्धि सम्झौता गरेर नेपालको नदिनाला, भुमी भारतलाई सुम्पने राष्ट्रघाती दलालहरु, भ्रष्टचारी पुजीवादी दलालहरु र  सबैखाले चर्चित भ्रष्ट अपराधिक काण्डमा संलग्न जो कोहि पनि उम्किन पाउनु भएन र हदैसम्म कानुनी कार्बाही हुनुपर्छ भन्ने सम्पुर्ण सचेत जनताको माग रहेको छ । होइन भने विधिको शासन र कानुनी राज्यमाथि प्रश्न चिन्ह खडा हुनेछ । कोभिड १९ महामारी पीडित जनतालाई तीन तहको सरकारले बेलैमा आवश्यक राहत तथा सुरक्षा व्यवस्था गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूत गराउन सक्नुपर्दछ । जय मातृभुमी !!!

(लेखक किराँती – विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै न्यायको पक्षमा कलम चलाउदै आउनु भएको छ । )

फेसबुकबाट तपाईको प्रतिक्रिया