काठमाडौं – काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले भदौ १७ गतेसम्मको निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै मंगलबार सिफारिस गृहमन्त्रालयमा पठाएको थियो। बुधबार गृहमन्त्रालयले सो निर्णय सिफारिस गरेको हो। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको थियो। उपत्यकामा मात्र संक्रमितको संख्या तीन हजार नाघिसकेको छ। काठमाडौंमा मात्र करिब २८ सयमा संक्रमण पुष्टि भएको छ।
अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ।
