- अजय लेन्सम्यान/सरण महर्जन
काठमाडौं – कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पुर्याइएको हो ।
कोभिड-१९ महामारीका कारण रथलाई पुरानै रूटमा तान्न जोखिम हुने कारणले संक्षिप्त विधिबाट प्रक्रिया पूरा गरिएको हो।
औपचारिकता पूरा गर्न पाटनका चार टोलका १६० जना मिलेर रथ तानेका थिए । गाः बहालका ४० जना, वछुत्वा नुगःका ४० जना, लगँयाका ४० जना, र जावलाख्यका ४० जना मिलेर रथ तानेका हुन् ।
आइतबारको संक्षिप्त रथयात्रा निकाल्दा काठमाडौं उपत्यकामा निषेधाज्ञा थियो। स्थानीय प्रशासनले ललितपुर महानगरका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउँदै रथ रहेको आसपासको क्षेत्र सिल गरेको थियो।
रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते भित्र रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लैजाने तयारी छ । यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन ।