डम्बर निदाल
डडेल्धुरा – करिव पाँच बर्ष अगाडी व्यवस्थित बसपार्क निर्माणको काम शुरु गरिएको डकले बसपार्क पाँच बर्ष सम्म पनि बन्न सकेको छैन । जिल्ला सदरमुकाम भन्दा पाँच किलोमिटरको दुरीमा महाकाली राजमार्ग छेउमै बसपार्क निर्माणको काम थालिए पनि अहिले अलपत्र परेको छ । ६० लाखको रकममा काम शुरु गरिएको बसपार्क निर्माणको काम अहिले अलपत्र परेको हो ।
आर्थिक अभावका कारण अमरगढी नगरपालीका–८ डकलेमा निर्माण शुरु थालिएको बसपार्क अहिले अन्यौलमा परेको छ । जिल्ला सदरमुकाम बागबजारमा रहेको बसपार्कको विकल्पका रुपमा नयाँ र व्यवस्थित बसपार्क बनाउन थालिएको थियो । डकले बसपार्कको निर्माण नहुँदा बजारमा यातायातका सवारी साधन पार्कीङ्ग गर्न निकै समस्या रहेको छ ।
डकलेमा निर्माणाधिन बसपार्कको निर्माण स्थलमा केही पर्खाल लगाइएको छ । भने थोरै जमिन सम्याउने काम मात्रै गरिएको छ । बसपार्क निर्माणका लागि आर्थिक बर्ष २०७३÷०७४ साविकको सहरी विकास तथा भवन डिभिजन कार्यालय राजपुर डोटीको ६० लाख रुपैयाँ खर्च भईसकेको छ ।
निर्माण शुरुवातको समयमा रकम बराबरको जमिन सम्याउने र पर्खाल लगाउने गरी कामको शुरवात थालिएको निर्माणको जिम्मा पाएको भट्टराई निर्माण सेवाका केशव भट्टराईले बताए ।
क्रमागत रुपमा बजेट आउने गरी शुरुवातमा सामुदायिक वनले दिएको जमिन सम्याउने र पर्खाल लगाउने गरी ठेक्का सम्झौता भएको र उपलब्ध रकम अनुसार काम भएको उनको भनाई छ । ६० लाख रकममा झण्डै ४७ प्रतिशत बेलोमा बसपार्कका लागी जमिन सम्याउने र पर्खाल लगाउने गरी ठेक्का सदर भएको हो । उनले भने, त्यो अनुसारको काम गरि सक्नु पर्ने समय ठेक्का सम्झौता अनुसार भयो । त्यस पछिका बर्षहरुमा संघ र प्रदेश सरकार बाट बसपार्क निर्माणका लागी बजेट नै नआए पछि काम हुन नसकेको जनाए ।

नयाँ र ब्यवस्थित बसपार्क निर्माणका लागी स्थानिय सबैको सहयोग र बजेट बिनियोजन भयो भने तुरुन्तै आफुले काम शरु गर्ने समेत उनले जानकारी दिए ।
बजारमा रहेको बस पार्कको क्षमता आफैमा कम रहेको छ । जिल्लाकै प्रमुख बसपार्कका रुपमा डकलेमा ३८ रोपनी क्षेत्रफलमा निर्माण कार्य शुरु गरिएको थियो ।
जिल्ला सदरमुकाम बागबजारमा रहेको बसपार्कमा यातायातका सवारी साधन पार्कीङ्ग गर्न समस्या भईरहेका यातायात व्यवसायी बताउँछन । साघुरो बजार क्षेत्रमै सानो बसपार्क बनाईएकाले गाडी पार्किङ्ग गर्न निकै सास्ति हुनुका साथै दुर्घटनाको जोखिम रहेको सवारी चालकहरुको भनाई छ ।
