काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ‘एनएफपिजे- नेपाल’ले फोटो पत्रकारहरुलाई फोटोग्राफी प्रशिक्षण दिने भएको छ । आफ्नो स्थापनाकालको २४ औं वार्षिक उत्सवको अवसर परेर फोटो पत्रकारहरुलाई भर्चुअल रुपमा प्रशिक्षण दिन लागिएको हो ।
फोटो पत्रकारहरुको पूरानो संस्थाको रुपमा रहेको एनएफपिजेको यो प्रशिक्षणले संस्थामा आबद्ध नयाँ सदस्यहरुको क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने संस्थाका महासचिव प्रदीपराज वन्तले बताए ।
असोज २ गतेबाट सुरु हुने भर्चुअल प्रशिक्षण असोज ३ र ४ गरी ३ दिनसम्म चल्नेछ । बेलुका ८ बजेदेखि १० बजेसम्म २ घण्टा प्रशिक्षण हुने महासचिव वन्तले जानकारी दिए ।
फोटो पत्रकारहरुलाई पूराना तथा अनुभवी फोटोग्राफर राजन काफ्लेले प्रशिक्षण दिनेछन् । काफ्ले हाल प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् ।
संस्थाका अध्यक्ष राजेन्द्र चित्रकार पनि यस प्रशिक्षणबाट फोटो पत्रकारको क्षमता अभिबृद्धि हुने कुरामा विश्वस्त छन् ।
