काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एक अन्तर्वार्तामा आफूले बोलेको शब्दलाई अपव्याख्या गरेर दुष्प्रचार भइरहेको बताएका छन्।
‘प्राइम टाइम्स’ टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा आफूले ‘एकपाखे’ शब्द प्रयोग गरेको तर त्यसलाई विरोधी पक्षले अतिरञ्जित गरी ‘पाखे’ भनेर दुष्प्रचार गरिरहेको थापाको दाबी छ।
मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।
— Surya Thapa (@ThapajiSurya) September 23, 2020
अन्तर्वार्तामा उनले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरू एकपाखे हुन् भनी टिप्पणी गरेका थिए। तर यसलाई् आफूप्रति दुराशय राख्ने व्यक्तिले अर्कै बनाएर कुप्रचार गरिरहेकाले भ्रममा नपर्न भन्दै सल्लाहकार थापाले बुधबार ट्विटरमार्फत आग्रह गरेका हुन्।
‘मैले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु। त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु।’