डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालले दिएको जानकारी अनुसार केही दिनअघि भारतबाट आएका उनि श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।
मृतकका आफन्तले दिएको जानकारी अनुसार निजमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोनाबाट यो पहिलो मृत्यु हो ।
बुधबार दिउँसो गाउँपालिकाको एम्बुलेन्समार्फत ति पुरुष लाई डडेल्धुरा अस्पताल ल्याइएको थियो । अस्पताल पु¥याउदा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताईएको छ ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।