डम्बर निदाल
डडेल्धुरा – कोरोनाको महामारीका कारण करिव छ महिना देखी बन्द रहेका विद्यालय पहिलो चोटि खुल्न थालेका छन् । डडेल्धुरा जिल्लाको एक स्थानीय तहका विद्यालय खुल्न थालेका छन् । जिल्लाको अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन् ।
लकडाउनको समयमा क्वारेटाईनमा प्रयोग गरीएका विद्यालयका भवन,कक्षाकोठा लगायतका क्षेत्रहरु लाई पुर्णरुपमा निर्मुलीकरण गरीएको र पठनपाठनका लागी स्थानीय तहमा रहेका विद्यालय संचालनका लागि प्रधानाध्यापक, अभिभावक, विद्यालय कर्मचारी र अन्य सरोकारवालासँग राय सुझाव संकलन गरी विद्यालय संचालन गर्ने निर्णय गरेको र सोही निर्णय अनुसार सबैको सहमतीमा विद्यालय संचालन गरीएको अजयमेरु गाउँपालिका प्रमुख उमेश प्रसाद भट्ट’विकासले जानकारी दिए ।
आइतबारदेखि सामाजिक दुरी कायम गर्नुका साथै बिधार्थीलाई प्रत्यक्ष निगरानीमा राखी विद्यालयमा निरन्तर पढाइको सुरुवात गरिएको छ । जिल्लामा अजयमेरुले गाउँपालिका स्तरीय निर्णय गरी विद्यालय खोल्ने सहमति गरेको हो । सोही सहमति र निर्णयका आधारमा आजदेखि पढाइ सुचारु गरिएको हो ।
३२ वटा सामुदायिक विद्यालय रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अभिभावक, शिक्षक र शिक्षा शाखा अजयमेरुसँगको छलफल पछि विद्यालय खोलिएको उनले बताए । अजयमेरु गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४ जना रहेपनि उनीहरु लाई आईसोलेशनमा राखिएको र उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको साथै अहिले उनिहरुमा कुनै किसमको लक्षण नभएको समेत उनले बताए ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नियमित विद्यालय खोल्ने निर्णय गरेको अजयमेरु गाउँपालिकाले जनाएको छ । साथै विधार्थीलाई कोरोनाबाट जोगिन स्वास्थ्य सामाग्री तथा सम्पूर्ण सुरक्षाका सामग्री अपनाएर सिप्ट मिलाएर विद्यालयमा नियमित पठनपाठन गर्ने जनाएको छ ।
हालका लागि विद्यालयको चौरमा समाजिक दुरी कायम गरी पठनपाठन कार्य गराइरहेको अजयमेरु— १ मा रहेको वालकल्याण माविका शिक्षकले बताए ।
अजयमेरु गाउँपालिकामा बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय,सुझाव लिई नियमित विद्यालय सुचारु गरिएको अजयमेरु शिक्षा शाखाले जनाएको छ ।
