काठमाडौँ – सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ। बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती किशोरीहरुलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए। शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उद्दार गरिएकामा १९ र २२ वर्षका दुई किशोरी रहेका छन्। भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए।
नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन्। नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ।
सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो। सीमापारि नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत रु दुई लाख रकम दिने भनिएको थियो।