काठमाडौं – उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं नआउन अपिल गरेको छ। ‘काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेको छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सकभर काठमाडौं नआउनुहुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै आउन अनुरोध गर्दछौं।’
प्रवक्ता डा. गौतमका अनुसार मुलुकभर शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्रै झन्डै आधा अर्थात् १ हजार १ जना छन्। यस्तै, उपत्यकाकै ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ।
मुलुकभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ छ। कुल संक्रमितको सख्ंया भने ८४ हजार ५ सय ७० पुगेको छ। यीमध्ये ६२ हजार ७ सय ४० जना निको भएका छन्। शनिबार २ हजार ४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुने दर ७४.१ प्रतिशत छ। मृतकको संख्या ५ सय २८ पुगेको छ।
