काठमाडौँ – सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको हो।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताए। संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उनले बताए।
“अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गएपनि काठमाडौं उपत्यका उच्च जोखिममा छ। आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ। ४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पुर्याउन सक्छ। आफूले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिडडुल गर्दा, अरू खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु”, ज्ञवालीले भने।
उनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दशै तिहार जस्ता पर्व मनाउन पनि आग्रह गरे। आफू स्वस्थ रहे फेरीपनि चाडबाड मनाउन सकिने भएको उल्लेख गर्दै उनले काठमाडौंबाट गाउँ जाँने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनाको जोखिम पनि बढ्दै जाने बताए।
