काठमाडौँ – सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्। कोरोना महामारीबीच दुवै दल महाधिवेशनको तयारीमा लागेका छन्। नेकपाले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ भने कांग्रेसले फागुनमा महाधिवेशन गर्ने भनेको छ। यसै मेलोमा दुई पार्टीका संस्थापन पक्षधर र संस्थापन इतरका नेताहरूबीच पदीय भागबन्डा र आन्तरिक किचलो बढिरहेको छ।
केन्द्रीय सत्ता सञ्चालन गरिरहेको नेकपाको वर्चस्व प्रदेश र स्थानीय तहको सत्तामा पनि छ। ६ वटा प्रदेश सरकार र चार सय दुई स्थानीय तह नेकपाले हाँकिरहेको छ। तीन तहमा सत्ताको नेतृत्व गरेको नेकपाका नेताहरू भने आन्तरिक कलहमा रुमलिएका छन्। केन्द्रीय नेतृत्वले कोरोना संक्रमणको सात महिना बित्दा पनि नेता–कार्यकर्तालाई जनचेतनाका कार्यक्रम दिएर पठाउन सकेको छैन। दुई पार्टी एकतापछि बनेको नेकपाले आफूसँग आठ लाख पार्टी सदस्य रहेको दाबी गरेको छ। नेकपा, कांग्रेसजस्ता पार्टीको संगठन गाउँ तहसम्म फैलिएको छ।
ठूलो संख्यामा संगठित कार्यकर्ता भएका यी पार्टीले अहिलेसम्म आफ्ना नेता–कार्यकर्तालाई संक्रमणप्रतिरोधी जनचेतनामा खटाएका छैनन्। सूचना, सञ्चार र प्रविधिको युगमा राजनीतिक दलहरूले डिजिटल माध्यमबाट समेत कोरोनाविरुद्ध सन्देश प्रचारप्रसार गर्न सकेनन्। निर्वाचनका बेला सबै दलले राष्ट्रिय मिडियामा ज्याकेट विज्ञापन दिने, विभिन्न सामग्री बनाएर डिजिटल माध्यमबाट प्रचार गर्ने, टिसर्ट बनाउने, ब्यानर–तुल टाँग्नेजस्ता कार्य गरेर सर्वसाधारणलाई आफ्नो पक्षमा मतदान गर्न प्रेरित गरेका थिए। तर अहिले कोरोना संक्रमणका लागि त्यस्ता प्रचार र सन्देशमूलक सामग्री आवश्यक पर्ने भए पनि राजनीतिक दलहरू कुना बसेर घरझगडामा रमाएका छन्। याे खबर नागरिक दैनिकमा छ ।