डम्बर निदाल
डडेल्धुरा – सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुरा जिल्लाको प्रमुख धार्मिक पर्यटकिय स्थल उग्रतारा मन्दिरमा कोभिड—१९का कारण अष्टमी मेला नहुने भएको छ ।
सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिर अष्टमीका दिने भने ठुलो मेला लाग्ने गरेको भएपनि विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि बढदै गए पछि मेला नलाग्ने भएको हो ।
सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्ला तथा अन्य स्थान लगायत भारतका विभिन्न स्थानहरुबाट खास गरी दशैंको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिर पुग्ने गरेको परम्परा यस वर्ष कोरोनाको प्रभाबमा परेको छ ।
किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाई छ ।
तर यसबर्ष कोभिड—१९को संक्रमणको नियन्त्रणका लागि अष्टमी मेला स्थानीय प्रशासनले नगर्न आग्रह गरेसँगै घटस्थापना र नबरात्री सुरु भएसंगै नित्य पुजा बाहेक अन्य गतिबिधिहरु समेत नगरिने, अष्टमी तथा दशमीको मेला नगर्ने, बलि स्वरुप चढाईने बोका रांगा नचढाईने र ब्यापार ब्यवसाय नगर्ने निर्णय गरिएको उग्रतारा क्षेत्र बिकास समितिका अध्यक्ष तेज बहादुर साँंकीले जानकारी दिएका छन ।
सत्यको जितका लागि देवी दुर्गाले महिषाशुरको बध गरेको स्मरणमा अष्टमी मेलामा राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने अवसरको रुपमा रहेको उग्रतारा अष्ठमी मेला औपचारिकतामा सिमित हुने भएको छ ।