काठमाडौं – सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ । यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो ।

यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै सुस्त भएकाले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नदेखिएको भुसालले बताए ।

बस कम्पनीहरुले भने बसपार्क पुग्नेहरु धेरैलाई टिकट सकिएको भन्दै फर्काइरहेका छन् । कतिले टिकट काटेपनि बढी भाडा लिइएको गुनासो यात्रुले गरिरहेका छन् ।

विभागले भने बढी भाडा लिइए ट्राफिक पहरीलाई खबर गर्न आग्रह गरेको छ ।

व्यवसायीहरुले सुरुबाटै यो वर्ष दशैंको अग्रिम टिकट बुकिङ खोल्न नपर्ने बताउँदै आएका थिए । आधा सिटमा मात्रै यात्रु बोक्दा पनि पर्याप्त यात्रु नपाएकाले पहिल्यै टिकट बुक गर्न आवश्यक नभएको तर्क उनीहरुको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया