काठमाडौँ – आज वडा दशैंको सातौ दिन । दसैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपातीदेखि दसैंको खास रौनक सुरु हुन्छ। देशभर घरघरमा धार्मिक विधिपूर्वक फुलपाती भित्र्याइदैछ । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुले शुभ साइतको प्रतीक फुलपाती घरघरमा शास्त्रीय विधि अनुसार भित्र्याउदै छन् ।
घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने प्रचलन छ ।
फूलपातीका दिन नौ देवीको प्रतीकका रुपमा फूलपाती भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भए पनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुने गर्दछ ।
फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम शुरु हुने गर्दछ । तर यो वर्ष भने विश्वभर महामारीको रुप लिएको कोभिड १९ को कारण दशैंमा टिका र आर्शिवाद लिन आफन्तकोमा नजान सरकारले आग्रह गरेको छ । जमघट तथा भीडभाड हुँदा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै जो जहाँ छ त्यहि दशैं मनाउन सरकारले आग्रह गरेको छ ।
