भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति तय भएको छ । नरावणे तीन दिने नेपाल भ्रमणका लागि आगामी नोभेम्बर ४ तारिख अर्थात कार्तिक १९ गते आउन लागेका छन् ।
दुई देशका अधिकारीको संयुक्त बैठकले नरावणेको भ्रमणको मितिलाई औपचारिक टुंगो लगाएको हो । नरावणेको नेपाल भ्रमणको मिति भारतीय पक्षले नै तोकेको हो । भारतीय पक्षले तय गरेको मितिलाई नै आज बसेको बैठकले औपचारिकता दिएको हो । नेपाली सेनाले गत असोज २८ गते नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउनु हुने जानकारी दिएको थियो ।
नरावणेले गत डिसेम्बर ३१ तारिखमा भारतीय सेनाको सर्वोच्च पदको कार्यभार सम्हालेका हुन् । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । सो बेला नरावणेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।
नेपाल र भारत दुबै देशका सेना प्रमुखलाई एक अर्काको देशमा मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन छ ।
