काठमाडौँ – नेपाल–चीन तातोपानी नाका आज (बुधबार) देखि पुनः खुल्ने भएको छ । यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका गत असोज १९ गते खुले लगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो ।
त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईले तिब्बतको वाणिज्य विभागले नाका खोल्ने तयारी गरेको जानकारी दिए ।
वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने र कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएका छन् । अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सार सम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको चिनियाँ अधिकारीले बताएका छन् ।
