काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ । उक्त न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको पनि महाशाखाको भनाइ छ ।
आगमी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङ्गबाट बँच्न सतर्कता अपनाउन पनि उसको अनुरोध छ ।
त्यस्तै देशको पश्चिमी पहाडी र पूर्वी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदीमा पानिको वहाव आकस्मिक वृद्दि हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसका साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सावधानी अपनाउन पनि उसको आग्रह छ ।
हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको र मध्य तथा पूर्वी भागमा आंशिक वदली रहेको महाशाखाले जनाएको छ ।
सोमबार (आज) दिउँसो देशका धेरैजसो स्थानमा वदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी पहाडि भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महशाखाले जनाएको छ ।
सोमबार राति देशका धेरैजसो स्थानहरुमा वदली हुने र पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ । पूर्वी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै मंगलबार दिउँसो धेरैजसो स्थानमा आंशिकदेखि सामान्य वदली हुने तथा केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । मध्य तथा पुर्वी पहाडि भू–भागका एक/दुई स्थान तथा पश्चिमी तराईको केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति देशका धेरैजसो स्थानमा वदली भइ पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पूर्वी तराई भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै बुधबार दिउँसो धेरैजसो स्थानमा आंशिकदेखि सामान्य वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पहाडि भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मंगलबार राति पनि धेरैजसो स्थानमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने तथा पूर्वी तथा पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।