– टीकाप्रसाद भट्ट
के छ बरिष्ट पत्रकार जी ?, शिबवहादुर खड्काले मलाई गर्ने सम्बोधन प्राय यहि नै हुन्थ्यो । म ठिकै छ, दाई भन्थे र छेउमै बस्थे । के छ भन, राजनीतिक परिवेश ? वहाँले मलाई सन्चो विसन्चो भन्दा पनि पहिले राजनीतिक कुरा सोध्नु हुन्थ्यो । जीवन नै राजनीतिमा भिजेका दाईको अरु कुरा प्राथमिकतामा पर्दैनथ्यो । मैले उहाँको अघि के राजनीति बुझेको हुन्थे र ? तपाई नै बताउनुस भन्थे । अनि वहाँ आन्तरिक र बाह्य राजनीतिक परिवेशको पोको फुकाउनु हुन्थ्यो र विश्लेषण गर्न थाल्नुहुन्थ्यो ।
शिवहादुर खड्काले लक्का जवानीमा गरेको राजनिति मैले देखिन, भोगिन । नेपाल विद्यार्थी संघको स्थापना, गौरीशंकर छात्र समिति र त्यसका पदाधिकारीले गरेका रगतको सहिछापको कुरा पनि मैले पछि मात्र सुने ।
२०४३ सालमा आम चुनाब थियो राष्ट्रिय पञ्चायतको । त्यसबेला शिबवहादुर खड्का उम्मेदावार हुनुहुन्थ्यो । मैले त्यहि बेला हो , उहाँलाई पहिलो पटक देखेको । उहाँलाई चुनाव चिन्ह सूर्य परेको थियो । प्रचारप्रसारका लागि सानादेखि ठूला पोष्टर बनाउने, वितरण गर्ने र टाँस्ने चलन थियो । उम्मेदवारको फोटो र चुनाव चिन्ह राखेर बनाइएका पोष्टर रहरलाग्दा हुन्थे । सूर्य चिन्ह, अनुहारमा सूर्य जस्तै तेज भएको खड्काका लागि सुहाउदो थियो ।
म रामेछापमा पढ्थे त्यस चुनावको ताका । तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नबराज सुवेदी पनि चुनावमा हुनुहुन्थ्यो । उहाँको घर नजिकै हाम्रो कोठा थियो । प्राय उहाँकै पोष्टर ल्याएर हामी कोठाको भित्तामा टाँस्थ्यौं । शिवबहादुर दाईको थिएन ।
मेरो एउटै कक्षामा पढ्ने साथी नारायणवहादुर खड्का शिवहादुर दाईको भतिज पर्ने । एकदिन नारायण आएर हाम्रो कोठाको नबराज सुवेदीको पोष्टर च्यात्न लगाउनुभयो र उहाँको काकाको पोष्टर टाँस्न लगाउनुभयो । हामीले त्यसै गरीदियौं । साथी खुसी हुन्छ भने त्यहि गरिदियौं । खड्का र हामी मिल्ने साथि थियौं ।
चुनावमा शिवहादुरलाई हार्नुभयो । नबराज र आङछिरिङ शेर्पाले चुनाव जित्नुभयो । नबराजले जस्लाई चुनाव जिताउन चाह्यो त्यसैले जित्ने चलन थियो रे त्यसबेला । नबराजले शेर्पालाई काखि च्यापेको कुरा थियो ।
पञ्चायत व्यवस्था ढलेपछि काँग्रेसको नेतृत्वमा अन्तरिम सरकार वन्यो । त्यसले आम निर्वाचन गरायो । २०४८ सालमा । काँग्रेसले बहुमत ल्यायो । त्यसको झण्डै १ बर्षपछि स्थानीय तहको चुनाव भयो । त्यसमा पनि अधिकांश स्थानमा काँग्रेसले जित्यो । गाउँदेखि केन्द्रसम्म काँग्रेसले शासन सत्ता हातमा लियो ।
२०४९ को स्थानीय निर्वाचन पछि जिल्ला विकास समितिको निर्वाचनमा काँग्रेसले उम्मेदवार वनाउने कुरा चल्यो । त्यसबेला दुईटा युवा बहुत चर्चित हुनुहुन्थ्यो काँग्रेसमा । युबराज भट्टराई र ध्रुवहरी ढुंङ्गेल । जनआन्दोलनमा जिल्ला प्रहरीकै हिरासतमा धुलोसातु खाएका ति दुवैले जिल्ला विकास समितिको सभापतिमा दावि गर्नुभयो ।
शिववहादुर दाई पनि त्यसैमा मिसीनुभयो । अरु दावि गर्ने को को थिए, मलाई त्यति ख्याल भएन । निर्वाचनका लागि टिकट दिन तारानाथ रानाभाट र हरीबोल भट्टराई केन्द्रिय प्रतिनिधि भएर आएको जस्तो लाग्छ । उहाँहरुले धेरै काँग्रेसका कार्यकर्तालाई भेटघाट गर्नुभयो । राय सुझाव लिनुभयो । अन्त्यमा शिवहादुर खड्कालाई सभापतिको टिकट दिनुभयो । उपसभापति कस्लाई बनाउने भन्ने कुरा चल्यो । सभापतिमा दावि गर्ने अरुलाई उपसभापतिको प्रश्ताव गरियो , तर कुनैले पनि खान मानेनन् । स्वर्गीय पद्मशंकर अधिकारीले आङटावा शेर्पालाई उपसभापतिको रुपमा प्रश्ताव गर्नुभयो र शेर्पालाई टिकट मिल्यो । दुवैले चुनाव जित्नुभयो ।
खड्का जिल्ला विकास समितिको सभापति हुदाँ मन्थलीमा कुनै भौतिक पूर्वाधार थिएनन् । जिल्ला विकास समितिमा भर्खर एउटा ४ कोठे घर र हल वनेको थियो । खड्काले जिल्ला विकास समितिको हालको भवन निर्माण गर्नुभयो । आफु सानो क्वार्टर लिएर बस्नुभएको थियो । जिल्ला सदरमुकाम मन्थली या रामेछाप भन्ने कुराको टुंगो अझै लागिसकेको थिएन त्यस बेला सम्म । उहाँ सभापति भएकै बेला जिल्ला सदरमुकामबाट ३ वटा अफिस रामेछाप पुगेका थिए ।
त्यसपछि खड्काले जिल्ला सदरमुकाममा जसरी पनि वस्ती बसाल्न घडेरी वितरण गर्ने र १ बर्ष भित्र घर वनाउनै पर्ने नियम लगाउनुभयो । सरकारी र व्यक्तिले जति चाँडो घर वनाउन सक्यो त्यतिनै चाँडो सदरमुकामको स्थायीत्व हुने कुरामा खड्काले जोड गरेको मलाई सम्झना छ ।
खड्का जिल्ला विकास समितिको निकलंक सभापति हुनुहुन्थ्यो । जिल्ला विकास समितिमा सवै काँग्रेसका प्रतिनिधि थिएनन् । तत्कालिन एमाले र जनमोर्चा पनि थियो । ति पार्टीबाट जितेका क्षेत्रिय सदस्य ( जिल्ला विकास समितिका सदस्यलाई क्षेत्रीय सदस्य भन्ने चलन थियो ) लाई मिलाएर जिल्लाको विकासमा खड्काले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । जिल्ला सदरमुकामको खानेपानी योजना देखि ठुला ठुला सिंचाई आयोजना र तटवन्ध त्यस बेला जिल्लामा संचालनमा आएका थिए । मुढे दोरम्बा मन्थली सडकको केहि काम पनि त्यसैबेला भएको जस्तो लाग्छ ।
जिल्ला विकास समिति त्यस बेलाको सरकार थियो । भएका विकास निर्माणका सवै योजना त्यहि नै हुन्थे । समानुपातिक विकास र पारदर्शिता खड्काको पहिलो काम हुन्थ्यो । खड्का पैसा देखि परै बस्नुहुन्थ्यो । उहाँ भन्दा पूर्व पञ्चायतकालका जिल्ला सभापतिहरुले आफ्नो नाममा पेश्कि लिएर फछ्र्यौट नगरेका बेरुजु जिल्ला विकास समितिमा असरल्ल थिए । तर उहाँले जिल्ला विकास छाड्ने बेला एक पैसा तिर्नु बुझाउनु बाँकी रहे नरहेको हेरेर मात्र विदा लिनु भएको कुराले त्यस बेला धेरै चर्चा पाएको थियो । खड्काको सभापतित्वकालको बिपक्षीले समेत तारिफ गरेका थिए । लाभको पदमा जस्तो पसेको त्यस्तै निस्केको कि तत्कालिन प्रधानमन्त्री किशुनजिको चर्चा थियो, कि रामेछापमा शिववहादुर खड्काको ।
उहाँ जिविस सभापति भएकै बखत मेरो र उहाँको भेटघाट बाक्लो हुन्थ्यो । काठमाण्डौंको कात्यायनि नजिक उहाँको कोठामा गईरहन्थे म । उहाँ कपडा लगाउनमा , खानाका परिकारमा र विलासिताका सामानमा सौखिन हुनुहुन्थ्यो । ब्रुनाईबाट झिकाएको रंगिन ठुलो छाता, जापानीज सानो हाते रेडियो, ब्राण्डेड कपडा र जुत्ता उहाँ संग छुट्दैनथे । गोजिमा पैसा छ भने दरबारमार्गका ठुला रेष्टुरामा लगेर कार्यकर्तालाई खान दिने उहाँको चलनै थियो ।
नेपालको मात्र हैन, अन्तराष्ट्रिय राजनीतिका जिज्ञासु र समालोचना गर्न सक्ने खुबी खड्का संग थियो । जिल्ला स्तरका कार्यक्रमहरुमा खड्काले अधिकांशले प्राय बुझ्न नसक्ने अन्तराष्ट्रिय राजनिती र विश्वबाट पतन भएको कम्युनिजमको बारेमा लामो कुरा बोल्नु हुन्थ्यो । उहाँको भाषण धेरै पढेलेखेका व्यक्तिहरुले मात्र छेउकुना बुझ्थे । सामान्यले वुझ्दैनथे । अन्तराष्ट्रिय राजनिती बुझेको र त्यसलाई समालोचना गर्न सक्ने खुबि जिल्लामा अरु नेतामा थिएन र छैन पनि ।
नेपाल विद्यार्थी संघका संस्थापक भएका नाताले शेरवहादुर देउवासंग खड्काको राम्रो सम्बन्ध थियो । त्यहि सम्बन्धकै कारण खड्का शेरवहादुरले गठन गरेको प्रजातान्त्रिक काँग्रेसको केन्द्रीय सदस्य हुनुभयो । पार्टी एकीकरण हुदाँ त्यो पद गयो । त्यसपछि उहाँ संविधानसभा सदस्यमा मनोनित हुनुभयो । खड्कालाई मिलेको राजनीतिक लाभ त्यति नै हो । तर खड्काको उचाई धेरै माथि जाने थियो । एक त त्याग र सघर्ष उचोँ थियो । त्यस माथि शेरवहादुर देउवालाई तिमी भन्न सक्ने व्यक्तिमा पर्ने खड्काले मन्त्री पद पाउनु भएन । त्यसै प्रति मर्ने बेला सम्म उहाँको गुनासो रह्यो ।
खड्काको परिवार नै राजनीतिमा होमिएको थियो । बहिनी मिना पाण्डे पटक पटक मन्त्री बन्नु भयो । भाई रामचन्द्र खड्का काँग्रेसको जिल्ला सभापति र सांसदको टिकट लिन सफल हुनुभयो । भाई भतिज र भान्जा भान्जी सवैलाई पद दिनु पर्ने भनेर रामेछापेली काँग्रेसले खड्का परिवारको विरोध बेला बेलामा नगरेका हैनन् । तर जो त्यहि राजनीति लाई पेशा वनाएर हिडेंको छ, जिवन विताएको छ, त्यसमा नाता जोड्नु उचित हुदैन भन्नेहरु पनि काँग्रेसमै थिए ।
पछिल्लो समय खड्का रोगले धेरै थिल्थिलो हुनु भएको थियो । जिल्लामा आवागमन पहिलेको जस्तो थिएन । उहाँको दैनिकीमा समेत सहयोगीले भरथेग गर्नुपर्ने अवस्था थियो । धेरै रोगले थिचेका खड्का कार्यक्रमको निम्तो पाएको खण्डमा सकि नसकि जिल्लामा आउने गर्नुभएको थियो । जिल्लाको माया खड्का असक्त भएका बेलामा पनि उत्तिकै थियो ।
सानोथिमीको घरमा लडेर बेहोस हुनुभएका खड्कालाई नागरिक अस्पतालमा लगेर उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा उहाँको निधन भयो । जिल्लाले एउटा त्यागि, निष्ठाबान, संघर्षशिल र उच्च राजनीतिक व्यक्ति गुमाएको छ । मैले माया गर्ने अविभावक गुमाएको छु । स्वर्गबासको १३ औं पूण्यतिथिमा हार्दिक श्रद्धाञ्जली दाई ।
