मेरो सम्झनामा शिवबहादुर दाई

– टीकाप्रसाद भट्ट

के छ बरिष्ट पत्रकार जी ?, शिबवहादुर खड्काले मलाई गर्ने सम्बोधन प्राय यहि नै हुन्थ्यो । म ठिकै छ, दाई भन्थे र छेउमै बस्थे । के छ भन, राजनीतिक परिवेश ? वहाँले मलाई सन्चो विसन्चो भन्दा पनि पहिले राजनीतिक कुरा सोध्नु हुन्थ्यो । जीवन नै राजनीतिमा भिजेका दाईको अरु कुरा प्राथमिकतामा पर्दैनथ्यो । मैले उहाँको अघि के राजनीति बुझेको हुन्थे र ? तपाई नै बताउनुस भन्थे । अनि वहाँ आन्तरिक र बाह्य राजनीतिक परिवेशको पोको फुकाउनु हुन्थ्यो र विश्लेषण गर्न थाल्नुहुन्थ्यो ।

शिवहादुर खड्काले लक्का जवानीमा गरेको राजनिति मैले देखिन, भोगिन । नेपाल विद्यार्थी संघको स्थापना, गौरीशंकर छात्र समिति र त्यसका पदाधिकारीले गरेका रगतको सहिछापको कुरा पनि मैले पछि मात्र सुने ।

२०४३ सालमा आम चुनाब थियो राष्ट्रिय पञ्चायतको । त्यसबेला शिबवहादुर खड्का उम्मेदावार हुनुहुन्थ्यो । मैले त्यहि बेला हो , उहाँलाई पहिलो पटक देखेको । उहाँलाई चुनाव चिन्ह सूर्य परेको थियो । प्रचारप्रसारका लागि सानादेखि ठूला पोष्टर बनाउने, वितरण गर्ने र टाँस्ने चलन थियो । उम्मेदवारको फोटो र चुनाव चिन्ह राखेर बनाइएका पोष्टर रहरलाग्दा हुन्थे । सूर्य चिन्ह, अनुहारमा सूर्य जस्तै तेज भएको खड्काका लागि सुहाउदो थियो ।

म रामेछापमा पढ्थे त्यस चुनावको ताका । तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नबराज सुवेदी पनि चुनावमा हुनुहुन्थ्यो । उहाँको घर नजिकै हाम्रो कोठा थियो । प्राय उहाँकै पोष्टर ल्याएर हामी कोठाको भित्तामा टाँस्थ्यौं । शिवबहादुर दाईको थिएन ।

मेरो एउटै कक्षामा पढ्ने साथी नारायणवहादुर खड्का शिवहादुर दाईको भतिज पर्ने । एकदिन नारायण आएर हाम्रो कोठाको नबराज सुवेदीको पोष्टर च्यात्न लगाउनुभयो र उहाँको काकाको पोष्टर टाँस्न लगाउनुभयो । हामीले त्यसै गरीदियौं । साथी खुसी हुन्छ भने त्यहि गरिदियौं । खड्का र हामी मिल्ने साथि थियौं ।

चुनावमा शिवहादुरलाई हार्नुभयो । नबराज र आङछिरिङ शेर्पाले चुनाव जित्नुभयो । नबराजले जस्लाई चुनाव जिताउन चाह्यो त्यसैले जित्ने चलन थियो रे त्यसबेला । नबराजले शेर्पालाई काखि च्यापेको कुरा थियो ।

पञ्चायत व्यवस्था ढलेपछि काँग्रेसको नेतृत्वमा अन्तरिम सरकार वन्यो । त्यसले आम निर्वाचन गरायो । २०४८ सालमा । काँग्रेसले बहुमत ल्यायो । त्यसको झण्डै १ बर्षपछि स्थानीय तहको चुनाव भयो । त्यसमा पनि अधिकांश स्थानमा काँग्रेसले जित्यो । गाउँदेखि केन्द्रसम्म काँग्रेसले शासन सत्ता हातमा लियो ।

२०४९ को स्थानीय निर्वाचन पछि जिल्ला विकास समितिको निर्वाचनमा काँग्रेसले उम्मेदवार वनाउने कुरा चल्यो । त्यसबेला दुईटा युवा बहुत चर्चित हुनुहुन्थ्यो काँग्रेसमा । युबराज भट्टराई र ध्रुवहरी ढुंङ्गेल । जनआन्दोलनमा जिल्ला प्रहरीकै हिरासतमा धुलोसातु खाएका ति दुवैले जिल्ला विकास समितिको सभापतिमा दावि गर्नुभयो ।

शिववहादुर दाई पनि त्यसैमा मिसीनुभयो । अरु दावि गर्ने को को थिए, मलाई त्यति ख्याल भएन । निर्वाचनका लागि टिकट दिन तारानाथ रानाभाट र हरीबोल भट्टराई केन्द्रिय प्रतिनिधि भएर आएको जस्तो लाग्छ । उहाँहरुले धेरै काँग्रेसका कार्यकर्तालाई भेटघाट गर्नुभयो । राय सुझाव लिनुभयो । अन्त्यमा शिवहादुर खड्कालाई सभापतिको टिकट दिनुभयो । उपसभापति कस्लाई बनाउने भन्ने कुरा चल्यो । सभापतिमा दावि गर्ने अरुलाई उपसभापतिको प्रश्ताव गरियो , तर कुनैले पनि खान मानेनन् । स्वर्गीय पद्मशंकर अधिकारीले आङटावा शेर्पालाई उपसभापतिको रुपमा प्रश्ताव गर्नुभयो र शेर्पालाई टिकट मिल्यो । दुवैले चुनाव जित्नुभयो ।

खड्का जिल्ला विकास समितिको सभापति हुदाँ मन्थलीमा कुनै भौतिक पूर्वाधार थिएनन् । जिल्ला विकास समितिमा भर्खर एउटा ४ कोठे घर र हल वनेको थियो । खड्काले जिल्ला विकास समितिको हालको भवन निर्माण गर्नुभयो । आफु सानो क्वार्टर लिएर बस्नुभएको थियो । जिल्ला सदरमुकाम मन्थली या रामेछाप भन्ने कुराको टुंगो अझै लागिसकेको थिएन त्यस बेला सम्म । उहाँ सभापति भएकै बेला जिल्ला सदरमुकामबाट ३ वटा अफिस रामेछाप पुगेका थिए ।

त्यसपछि खड्काले जिल्ला सदरमुकाममा जसरी पनि वस्ती बसाल्न घडेरी वितरण गर्ने र १ बर्ष भित्र घर वनाउनै पर्ने नियम लगाउनुभयो । सरकारी र व्यक्तिले जति चाँडो घर वनाउन सक्यो त्यतिनै चाँडो सदरमुकामको स्थायीत्व हुने कुरामा खड्काले जोड गरेको मलाई सम्झना छ ।

खड्का जिल्ला विकास समितिको निकलंक सभापति हुनुहुन्थ्यो । जिल्ला विकास समितिमा सवै काँग्रेसका प्रतिनिधि थिएनन् । तत्कालिन एमाले र जनमोर्चा पनि थियो । ति पार्टीबाट जितेका क्षेत्रिय सदस्य ( जिल्ला विकास समितिका सदस्यलाई क्षेत्रीय सदस्य भन्ने चलन थियो ) लाई मिलाएर जिल्लाको विकासमा खड्काले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । जिल्ला सदरमुकामको खानेपानी योजना देखि ठुला ठुला सिंचाई आयोजना र तटवन्ध त्यस बेला जिल्लामा संचालनमा आएका थिए । मुढे दोरम्बा मन्थली सडकको केहि काम पनि त्यसैबेला भएको जस्तो लाग्छ ।

जिल्ला विकास समिति त्यस बेलाको सरकार थियो । भएका विकास निर्माणका सवै योजना त्यहि नै हुन्थे । समानुपातिक विकास र पारदर्शिता खड्काको पहिलो काम हुन्थ्यो । खड्का पैसा देखि परै बस्नुहुन्थ्यो । उहाँ भन्दा पूर्व पञ्चायतकालका जिल्ला सभापतिहरुले आफ्नो नाममा पेश्कि लिएर फछ्र्यौट नगरेका बेरुजु जिल्ला विकास समितिमा असरल्ल थिए । तर उहाँले जिल्ला विकास छाड्ने बेला एक पैसा तिर्नु बुझाउनु बाँकी रहे नरहेको हेरेर मात्र विदा लिनु भएको कुराले त्यस बेला धेरै चर्चा पाएको थियो । खड्काको सभापतित्वकालको बिपक्षीले समेत तारिफ गरेका थिए । लाभको पदमा जस्तो पसेको त्यस्तै निस्केको कि तत्कालिन प्रधानमन्त्री किशुनजिको चर्चा थियो, कि रामेछापमा शिववहादुर खड्काको ।

उहाँ जिविस सभापति भएकै बखत मेरो र उहाँको भेटघाट बाक्लो हुन्थ्यो । काठमाण्डौंको कात्यायनि नजिक उहाँको कोठामा गईरहन्थे म । उहाँ कपडा लगाउनमा , खानाका परिकारमा र विलासिताका सामानमा सौखिन हुनुहुन्थ्यो । ब्रुनाईबाट झिकाएको रंगिन ठुलो छाता, जापानीज सानो हाते रेडियो, ब्राण्डेड कपडा र जुत्ता उहाँ संग छुट्दैनथे । गोजिमा पैसा छ भने दरबारमार्गका ठुला रेष्टुरामा लगेर कार्यकर्तालाई खान दिने उहाँको चलनै थियो ।

नेपालको मात्र हैन, अन्तराष्ट्रिय राजनीतिका जिज्ञासु र समालोचना गर्न सक्ने खुबी खड्का संग थियो । जिल्ला स्तरका कार्यक्रमहरुमा खड्काले अधिकांशले प्राय बुझ्न नसक्ने अन्तराष्ट्रिय राजनिती र विश्वबाट पतन भएको कम्युनिजमको बारेमा लामो कुरा बोल्नु हुन्थ्यो । उहाँको भाषण धेरै पढेलेखेका व्यक्तिहरुले मात्र छेउकुना बुझ्थे । सामान्यले वुझ्दैनथे । अन्तराष्ट्रिय राजनिती बुझेको र त्यसलाई समालोचना गर्न सक्ने खुबि जिल्लामा अरु नेतामा थिएन र छैन पनि ।

नेपाल विद्यार्थी संघका संस्थापक भएका नाताले शेरवहादुर देउवासंग खड्काको राम्रो सम्बन्ध थियो । त्यहि सम्बन्धकै कारण खड्का शेरवहादुरले गठन गरेको प्रजातान्त्रिक काँग्रेसको केन्द्रीय सदस्य हुनुभयो । पार्टी एकीकरण हुदाँ त्यो पद गयो । त्यसपछि उहाँ संविधानसभा सदस्यमा मनोनित हुनुभयो । खड्कालाई मिलेको राजनीतिक लाभ त्यति नै हो । तर खड्काको उचाई धेरै माथि जाने थियो । एक त त्याग र सघर्ष उचोँ थियो । त्यस माथि शेरवहादुर देउवालाई तिमी भन्न सक्ने व्यक्तिमा पर्ने खड्काले मन्त्री पद पाउनु भएन । त्यसै प्रति मर्ने बेला सम्म उहाँको गुनासो रह्यो ।

खड्काको परिवार नै राजनीतिमा होमिएको थियो । बहिनी मिना पाण्डे पटक पटक मन्त्री बन्नु भयो । भाई रामचन्द्र खड्का काँग्रेसको जिल्ला सभापति र सांसदको टिकट लिन सफल हुनुभयो । भाई भतिज र भान्जा भान्जी सवैलाई पद दिनु पर्ने भनेर रामेछापेली काँग्रेसले खड्का परिवारको विरोध बेला बेलामा नगरेका हैनन् । तर जो त्यहि राजनीति लाई पेशा वनाएर हिडेंको छ, जिवन विताएको छ, त्यसमा नाता जोड्नु उचित हुदैन भन्नेहरु पनि काँग्रेसमै थिए ।

पछिल्लो समय खड्का रोगले धेरै थिल्थिलो हुनु भएको थियो । जिल्लामा आवागमन पहिलेको जस्तो थिएन । उहाँको दैनिकीमा समेत सहयोगीले भरथेग गर्नुपर्ने अवस्था थियो । धेरै रोगले थिचेका खड्का कार्यक्रमको निम्तो पाएको खण्डमा सकि नसकि जिल्लामा आउने गर्नुभएको थियो । जिल्लाको माया खड्का असक्त भएका बेलामा पनि उत्तिकै थियो ।

सानोथिमीको घरमा लडेर बेहोस हुनुभएका खड्कालाई नागरिक अस्पतालमा लगेर उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा उहाँको निधन भयो । जिल्लाले एउटा त्यागि, निष्ठाबान, संघर्षशिल र उच्च राजनीतिक व्यक्ति गुमाएको छ । मैले माया गर्ने अविभावक गुमाएको छु । स्वर्गबासको १३ औं पूण्यतिथिमा हार्दिक श्रद्धाञ्जली दाई ।

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको