काठमाडौँ – काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आकस्मिक बैठकमा बोलाएको छ। नेपाल राष्ट्र बैंकमा विभिन्न बैंकका प्रतिनिधिहरुसहित सुरक्षा अधिकारीहरु पुगिसकेको र केहीबेरमा यसबारे छलफल सुरु हुनेछ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले नेपाली बैंकलाई निशानामा पारेपछि थप सुरक्षा कसरी अपनाउने भन्ने विषय बैठकको एजेण्डा हुने बताए ।
शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
यो घटनापछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् ।