काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दाबेदार नेता डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । आज नेता पौडेल निवास बोहोराटारमा भएको दुई नेताबीचको ‘वानु टु वान’ छलफलमा नेता डा. कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न र लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधानमन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेका हुन् ।
विहान करिब डेढ घण्टा भएको छलफलमा सुरुमै नेता पौडेलले डा. कोइरालालाई सभापतिमा सघाउन भनेका थिए । बोहोराटार निकट स्रोतका अनुसार पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताएका थिए ।
‘मलाई एक पटक सभापति बन्ने ठूलो इच्छा छ । अहिले मलाई छोडिदिनुस्, एक वर्षपछि म तपाईलाई नै सहयोग गर्छु । अहिलेसम्मको राजनीतिक अनुभवलाई पार्टी नेतृत्वका रूपमा एक वर्षमै कार्यान्वयन गर्ने मेरो इच्छा पूरा गर्न सहयोग गर्नुस्,’ पौडेलको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो ।
पौडेलको त्यो प्रस्ताव पछि नेता डा. कोइरालाले लामो राजनीतिक अनुभव प्रधानमन्त्रीका रूपमा कार्यान्वयन गर्न सहज हुने भन्दै आफूलाई सभापतिमा समर्थन गर्न र प्रधानमन्त्रीको उम्मेदवार बन्न भनेका थिए । उनले आफूलाई सभापतिमा सहयोग गरेर २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई जस्तै पहिल्यै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेर अघि बढ्नेसमेत बताएका स्रोत बताउँछ ।
‘तपाईप्रति पार्टीमा सबैको सम्मान छ । आम नागरिकले पनि तपाइँलाई सम्मान गर्छन् । लामो राजनीतिक अनुभव छ । सभामुख, पटक-पटक मन्त्री, उपप्रधानमन्त्री भएको अनुभव प्रधानमन्त्री भएर कार्यान्वयन गर्नुपर्छ । तपाइँ प्रधानमन्त्रीको उम्मेदवार बन्नुस् । मलाई सभापतिमा सहयोग गर्नुस्,’ डा. कोइरालाको भनाइ थियो ।
तर, पौडेल भने उको प्रस्तावमा हुन्छ/हुन्न नभनी मौन बसेका थिए ।
दुई नेताले भित्र छलफल गरिरहँदा नेविसंघका पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्य र प्रतिमा गौतम, पूर्वविद्यार्थी नेता प्रमोदहरि गुरागाइँ तथा निवर्तमान सांसद प्रकाश स्नेही बोहोराटारमा बाहिर बसेका थिए । उनीहरूले पनि दुई नेतालाई मिलेर अगाडि बढ्न सुझाएका थिए । स्नेही पौडेलको सिफारिसमा निवर्तमान प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसद थिए ।
यसैबीच तीन दिन अगाडि डा. शेखरले युवा नेता गगन थापा र पूर्वमहामन्त्री र अहिले सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई बुढानीलकण्ठमा भेटेका थिए । उनले गगनलाई महामन्त्रीको उम्मेद्वार बनाउने र सिंहलाई सभापतिमा सघाए अन्य जुनसुकै पदमा सघाउन तयार रहेको भन्दै सघाउन आग्रह गरेका थिए ।
आफूले जिम्मेवारी पाएमा पाका र युवालाई मिलाएर लैजाने डा. कोइरालाको भनाइ थियो । कोइरालाको त्यो प्रस्तावमा थापा सहमत भए पनि सिंहले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।