काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको छ।
अदालतस्थित सरकारी वकिलको कार्यालयमा भएको बयानपछि महरालाई थप ७ दिन हिरासतमा राख्न आदेश दिएको हो।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा भएको बहसपछि प्रहरीले महरामाथि थप अनुसन्धान गर्न अरू ७ दिन हिरासतमा राख्ने समय पाएको हो।महरा अहिलेसम्म १८ दिन हिरासतमा बसिसकेका छन्। अब ७ दिन थप गरिएपछि उनलाई २५ दिन नै हिरासतमा राखिने भएको छ।
गत असोज १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। त्यसलगत्तै उनलाई पक्राउ गरिएको थियो। हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। असोज ३ गते उनलाई नर्भिकबाट सिधै जिल्ला अदालत लगिएको थियो। त्यसपछि उनलाई ५ दिन म्याद थप गरिएको थियो।
महरामाथि यौन दुराचारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन्।
महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।
गत असोज १२ गते आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिटसमेत गरेको उनले आरोप लगाएकी छिन्।
महराले असोज १३ गते सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए। रोशनीले घटनाको ६ दिनपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।