टोकियो । जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् ।
इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले समाचार लेखेपछि उनले राजीनामा दिएका हुन् । उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको छ । जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ ।
साप्ताहिक पत्रिका सुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक भएका थिए । मृतक परिवारलाई जापानमा पैसा दिनु सामान्य चलन हो । सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो । सुगावाराले आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहे पनि राजीनामा गर्ने निर्णय गरेको बताएका छन् ।सुगावाराले भने, ‘म मेरो समस्याका कारणले संसद्मा हुने छलफल ढिला होस् भन्ने चाहन्नँ ।’ प्रधानमन्त्री सिन्जो अबेले भने, ‘उनलाई नियुक्त गरेको जिम्मेवारी म लिन्छु। म जापानी नागरिकहरूसँग माफी चाहन्छु ।’