काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विभाग गठनका विषयमा सकस देखिएको छ ।

गत साता नै विभाग गठनको तयारी भएको भए पनि विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा प्रस्ताव भएपछि सकस देखिएको हो ।

गत ७ कात्तिकमा सभापति शेरबहादुर देउवाले विभाग गठनसहित उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रीय समिति बैठक बोलाएका थिए ।

सोअघि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ४२ विभागको प्रस्ताव गरेका थिए ।

तर, पौडेलले भने महासमितिबाट पारित विधानमा २८ विभागको मात्रै व्यवस्था भएकाले सोहीअनुसार नै गठन गरिनुपर्ने, नभए बैठकमा नै सहभागी नहुने भनेपछि बैठक स्थगित गरिएको थियो ।

सो विषयमा सहमति जुटाउन भन्दै सभापति देउवाले बिहीबार बिहान फेरि आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीसहित शीर्ष नेताको बैठक बोलाएका छन् ।

वरिष्ठ नेता पौडेलले उपनिर्वाचनसहित अन्य आवश्यक विषयमा छलफलका लागि बोलाइएको बताए । पौडेलले बैठकमा विभाग गठनसहितका विषय उठाइने बताएका छन् ।

‘उपनिर्वाचनसहितका विषयमा छलफल गर्ने भन्ने छ, विभाग गठनका विषयमा पनि कुरा उठ्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले शुक्रबार भने केन्द्रीय समिति बैठक बोलाएको र सो बैठकमा उपनिर्वाचनका विषयमा उम्मेदवारबारे छलफल गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here