प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख हटाउने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरीत भएको बताएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेश प्रमुख हटाएकी थिइन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीयता सफल बनाउन कहाँनेर प्रदेश प्रमुखहरूले अप्ठ्यारो सिर्जना गरेका थिए र सरकारले हटाउने निर्णय गरेको हो? भन्ने प्रश्न गरेका छन्।

शर्माले भने, ‘यो निर्णय राजनीतिक रूपले पूर्वाग्रही छ। गर्नैपर्ने थुप्रै काम असरल्ल छाडेर प्रवेश नै गर्न नपर्ने विषयमा सरकारले हात हालेर असफलताको खाडल खन्दैछ।’

उनले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरेका प्रदेश प्रमुखहरूसँग कांग्रेसको कुनै व्यक्तिगत मायामोह नभएको पनि उल्लेख गरे।

‘प्रदेश प्रमुखहरूसँग मायामोह हाम्रो छैन। तर अहिलेको सरकारलाई संघीयता कार्यान्वयन गर्न र सफल बनाउन कहाँनेर प्रदेश प्रमुखहरूले अप्ठ्यारो सिर्जना गरे र हटाइयो?’ उनले प्रश्न गरे। उपनिर्वाचनको मुखमा आचारसंहिता उल्लंघन गर्दै सरकारले प्रदेश प्रमुख हटाएको उनको भनाइ छ।

‘सरकार, दलहरू निर्वाचन आचारसंहिता पालना गर्नेतिर जानुपर्ने हो तर सरकारले नै निर्वाचनको मुखमा प्रदेश प्रमुख हटाइदियो यो विल्कुलै राम्रो कुरा होइन,’ उनले भने। आचारसंहितामा बाँधिएर जानुपर्ने बेला प्रदेश प्रमुखहरू हटाउने निर्णयले सरकारको सफलतामा योगदान पनि नगर्ने र यो निर्णय राजनीतिक रूपमा पनि गलत भएको शर्माले तर्क गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here